कालीकोटमा दुई मतदान केन्द्रको चुनाव स्थगित, जेठ १ गते हुने

वैशाख ३०, २०७९

कालीकोट — यहाँको रास्कोट ४ स्थित रमालमस्टो आधारभुत विद्यालय र पचालझरना ३ जनता मावि खार्दु मतदान केन्द्रको चुनाव स्थगित भएको छ । रास्कोटमा माओवादी केन्द्र र अन्य दलका कार्यकर्ता बीच विवाद हुदा झडप भएकोले चुनाव स्थगित गरिएको हो भने खार्दुमा काग्रेस, माओवादी केन्द्र र विप्लव समूहबीचको त्रिपक्षीय ढुंगामुडाले मतदान स्थगित गरिएको प्रजिअ रामहरि शर्माले बताए ।

 रास्कोट ६ कालाशिल्ला मावि मतदान केन्द्रमा पनि दिउँसो विवाद हुँदा ५ बजेपछि फेरि मतदान सुरु भएको र अबेरसम्म चलिरहेको प्रजिअ शर्माले बताए । उनकाअनुसार स्थगित भएका दुवै मतदान केन्द्रको चुनाव फेरि जेठ १ गते हुनेछ । खार्दु मतदान केन्द्र सदरमुकामबाट निकै टाढा भएकाले थप सुरक्षाकर्मी पनि पठाउन सम्भव नभएको सुनाउँदै प्रजिअ शर्माले कर्मचारीमाथि ढुंगामुडा भए पनि गम्भिर चोट कसैलाई नलागेको जानकारी दिए । 

जिल्लाको नरहरिनाथ, सान्नीत्रिवेणीको ठिगेल्नी आवि क्यूरी, पलाता ३ धौलागोह, नरहरिनाथ ९ लालु, पचालझरना २ खयरकोट मतदान केन्द्रमा सामान्य विवाद भएर केही समय मतदान रोकिए पनि पुन: संचालन भएको डिएसपी सिद्धराज न्यौपानेले बताए । उनकाअनुसार जिल्लाभरका अन्य स्थानीय तहका मतदान शान्तिपूर्ण भएको छ । मतपेटिका पालिकाको केन्द्रमा रातिसम्म ल्याएपछि मतगणना सुरु गर्ने तयारी छ । कालीकोटमा ६० देखि ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully