जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३, स्थित शंकर माध्यमिक विद्यालय गर्ज्याङकोट मतदान केन्द्रमा मतदान प्रक्रिया अनिश्चित बनेको छ । बिहान ७ बजेर १५ मिनेट देखि ११ बजेसम्म मतदान प्रक्रिया चलेको थियो ।
उक्त अवधिमा १ सय ११ मत खसेको थियो । तर एक्कासि लाइनमा बसेका मतदाताले मतदान अधिकृतले दस्तखत गरेको मतपत्र र मतदाता नामावली च्यातिदिएपछि मतदान अवरुद्ध भएको हो ।
मतदान केन्द्रमा केही समय ढुंगामुढा भएको थियो । ढुंगा लागेर सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीच दुई दिनअघिको विवादलाई लिएर मतदानस्थल केही बेर अशान्त बनेको थियो ।
मतदान केन्द्रमा अशान्ति र अमर्यादित क्रियाकलाप हुन थालेपछि मतदान प्रक्रिया रोकिएको थियो । मतदान पुन: सुरु गर्न सञ्चालन गर्न १२ बजेदेखि २ बजेसम्म सर्वदलीय बैठक बसेको थियो । तर मतदान प्रक्रिया सञ्चालन गर्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकेन । अहिले मतदाता घर फर्किसकेको स्थानीय सञ्चारकर्मी रामप्रकाश विकले जानकारी दिए ।
जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले अर्को सूचना नआउँदासम्मका लागि मतदान स्थगित भएको बताइन् । उनले निर्वाचन आयोगलाई यसबारे जानकारी गराइसकेको र आयोगले निर्धारण गर्ने मितिमा निर्वाचन हुने उनको भनाइ छ ।
