महोत्तरी — वर्षा र हावाहुरीका कारण महोत्तरीमा मतदान अवरुद्ध भएको छ । जिल्लाका धेरै मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत सुवोध महतोले जानकारी दिए ।
जिल्लाको उत्तरतर्फ भिषण वर्षा भएकाले उत्तरतर्फका मतदान केन्द्रमा मतदान अवरुद्ध भएको र धेरै ठाउँमा त्रिपाल लगाएर व्यवस्थापन मिलाइएको मतदान केन्द्र र कोठाभित्र मतदान गर्ने व्यवस्था मिलाइएको ठाउँमा मतदान जारी रहेको महतोले बताए ।
जिल्लाको उत्तरतर्फको बर्दिबास नगरपालिकामा कोठाभित्र मतदान गर्ने सहमति गर्दै व्यवस्थापन मिलाउन थालिएको बर्दिबासका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बताए ।
बर्दिबासको सबै ठाउँमा पानीले अवरोध गरेको भए पनि पुनः मतदान गर्ने व्यवस्थापन मिलाइरहेको सापकोटाले बताए । बर्दिबास ३ को जनजागृति मतदान केन्द्र र जनता माविमा कोठाभित्र मतदान सुरु गरिएको सापकोटाले जानकारी दिए ।
