मोरङमा उत्साहजनक मतदान


मोरङ — प्रदेश १ को एकमात्र महानगरपालिका सहित १७ वटा स्थानीय तह भएको ३ सय मतदानस्थलको ८ सय २० मतदानकेन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।



मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जिल्लास्थित सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए । साँझ ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबै व्यक्तिले मतदान गर्न पाउने उनले बताए ।

लेटाङ नगरपालिकाको वडा नम्बर ४ स्थित शान्ति भगवती मावि मतदानकेन्द्रमा मतदाता नामावलीमा भाडामा बस्ने व्यक्तिको नाम भएको विषयमा कांग्रेस र एमालेबीच विवाद भएपछि एक घण्टा ढिलो गरी बिहान मतदान सुरु भएको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

उनले हालसम्ममा ५० प्रतिशत मतदान भएर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताए । मतदाताहरु उत्साहपूर्वक रूपमा मतदान केन्द्रमा लामबद्ध भएर मतदान गरिरहेका छन् ।


