शुक्रबार साँझबाटै मतगणना सुरु हुने

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने निर्वाचन आयोगले जनाएको छ । 

मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

 दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रवक्ता पौडेलले जानकारी दिए । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully