कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको धनकौल र कौडेनामा विवादपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर

बलरा नगरपालिका–१ हथियौलमा पनि दुई पक्षबीचको विवाद
ओमप्रकाश ठाकुर

(सर्लाही) — सर्लाहीको धनकौल गाउँपालिकास्थित  धनकौल–२ पशु सेवा केन्द्र मतदान स्थलमा केन्द्रमा त्रिपक्षीय झडप हुन थालेपछि  स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको बताइएको छ । 

सर्लाहीको धनकौल र कौडेनामा विवादपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर

चलिरहेको मतदानस्थलमा त्रिपक्षीय ढुंगामुढा र झडप हुनथालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । धनकौलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप हुनथालेपछि बल प्रयोग गरिएको प्रजिअ गौतमले बताए । त्यहाँ विवादका कारण अहिले मतदान रोकिएको छ ।

यस्तै, बलरा नगरपालिका–१ हथियौलमा पनि दुई पक्षबीचको विवादका कारण मतदान रोकिएको छ ।

यस्तै, कौडेना गाउँपालिका–६ स्थित जनता आधारभूत विद्यालयमा राखिएको मतदान स्थलमा पनि नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकार्ताबीच विवाद भएको छ । विवादका कारण झण्डै १ घण्टा रोकिएको मतदान पुनः सुचारु भएकोमा तीन पक्षबीच पुनः विवाद र झडप भएपछि यहाँ पनि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको छ ।

कौडेनामा पुनः मतदान रोकिएको छ । कौडेनाको यो मतदान स्थलमा सेना परिचालन भएको स्थानीयले जनाएका छन् ।

विवाद देखिएर रोकिएको मतदानस्थलमा सर्वपक्षीय बैठक राखेर समस्या समाधानको प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए । ‘विवादका कारण रोकिएको मतदान सुचारुका लागि सर्वपक्षीय छलफल भइरहेको छ,’ उनले भने, ‘सर्वपक्षीय निर्णय पश्चात मतदान पुनः सुचारु हुनेछ ।’

जिल्लाका अन्य स्थानमा भने मतदान सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३ सय १८ मतदान स्थल अन्तर्गत ५ सय ९९ मतदान केन्द्र रहेका छन् । यहाँ ११ नगरपालिका र ९ गाउँपालिकाका लागि २० प्रमुख तथा उपप्रमुख तथा २ सय वडाध्यक्ष ८ सय सदस्य गरी १ हजार ४० जनप्रतिनिधि चुनिने छन् । जिल्लामा ४ लाख ७४ हजार ४ सय ३९ मतदाता रहेका छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?