गोरखा — झडपपछि एक घण्टा स्थगित भएको गण्डकी गाउँपालिका–७, घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । मतदान केन्द्रमा हुलहुज्जत भएपछि सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको हो ।
हुलहुज्जत गर्दै भीड मतदान स्थलको डोरी चुँडाएर मतपेटिका नजिक पुग्न खोजेसँगै सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेर स्थीति नियन्त्रणमा लिएको गण्डकी गाउँपालिकामा खटिएका प्रहरी निरिक्षक ज्ञानेन्द्र श्रेष्ठले बताए ।
नेपाली कांग्रेस समर्थक एक युवाले आमाको नाममा मत हालेर फर्किएर पुनः आफ्नो नाममा मत हाल्न आएपछि माओवादी समर्थकले विरोध जनाएका थिए । ‘एकजना व्याक्तिले आमाको नाममा हालेर फेरि आफ्नो नाममा हाल्न आउँदा विपक्षीले विरोध गरे, हुलहुज्जत गरेर एकै चोटी मतपेटिका नजिक भीड पुगेपछि हवाइ फायर गरेका छौँ,’ उनले भने ।
माओवादी र कांग्रेस समर्थक विच विवाद पछि हुलुहुज्जत भएको हो । विवाद पछि झण्डै एक घण्टा मतदान स्थगित भएको थियो । सर्वदलिय बैठकले विवाद मिलाएपछि केहीवेर अघिबाट मतदान प्रक्रिया सुचारु भएको श्रेष्ठले बताए ।
