अछाम — शुक्रबार बिहान सात बजेबाट सुरु भएको स्थानीय तह निर्वाचन-२०७९ मा १०१ वर्षीय ज्येष्ठ नागरिक धनी जैसीले मतदान गरेका छन् । मतदानस्थलसम्म बोकेर ल्याइएका उनले कालिका आधारभूत विद्यालय तुर्माखाँद गाउँपालिका ८ बाट मतदान गरेका हुन् ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।
बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।
