काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले विवेकको प्रयोग गरी आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो मतदान गर्न मतदातालाई अनुरोध गरेका छन् ।
बिहीबार एक अपिल जारी गर्दै गृहमन्त्री खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन मतदाताहरुमा आग्रह गरेका हुन् ।
‘यहाँको अभिमतले देश र देशवासीको समृद्धिमा सहयोग पुर्याउने छ भन्ने विश्वास लिएको छु,’ गृहमन्त्री खाँणद्वारा जारी अपिलमा भनिएको छ ।
संविधान निर्माणपश्चात दोस्रो पटक यही वैशाख ३० गते शुक्रबार मुलुकभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचन सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
