बुटवल — रुपन्देहीको सैनामैना नगरपालिका ८ का बालकृष्ण मरासीनी दुवै आँखाले देख्दैनन् । सेतो छडीको सहारा लिनुपर्ने उनलाई हिँड्नुपर्दा छडीसँगै अर्को व्यक्तिको पनि सहारा चाहिन्छ ।
२०३६ सालको जनमतसंग्रहदेखि निरन्तर भोट हाल्दै आएका उनी यसपटकको निर्वाचनमा पनि मतदान गर्न आतुर छन् । तर घरदेखि करिब डेढ घण्टाको पैदल यात्रामा मतदान केन्द्र छ । त्यहाँसम्म जाने र आउने कसरी उनी रनभुल्लमा छन् ।
नेत्रहीन संघ लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका बालकृष्ण भन्छन्, ‘मतदान गर्न नजानु एउटै भोटको अन्तरले पनि आफूले चाहेको उमेदवारले हार्ला भन्ने डर छ । जानु कसरी अन्योल छ ।’ बालकृष्णलाई अहिलेसम्म कसैले मतदान गर्ने स्थलसम्म कसरी लैजाने भन्ने बारेमा सोधखोज समेत नगरेको बताउँछन्।
बालकृष्ण जसोतसो मतदानकेन्द्र त पुग्लान् । त्यतिले मात्रै उनको समस्या समाधान हुँदैन । सहयोगीले आफूले भनेको स्थानमा मत हाल्छ कि हाल्दैन भन्नेमा समेत उनी सशंकित छन् । ‘दृष्टिवीहिनका लागि ब्रेललिपिमा मतपत्र बनाऔं । आँखा नदेख्नेले पनि आफूखुसी मतदान गर्न सक्ने बनाऔं भनेर धेरैपटक माग गरियो । बहस चलाइयो,’ उनले भने, ‘तर हाम्रा कुरा कसैले सुनेन ।’
मतदान गर्ने समय नजिकिँदै गर्दा कर्मचारीहरू मतदानस्थलको तयारीदेखि मतदाताको सुरक्षामा खटिएका छन् । तर, अपांगता भएका मतदाताले सहज किसिमबाट कसरी मत हाल्ने व्यवस्था मिलाउने भन्नेमा कसैको ध्यान गएको देखिँदैन । न त, मतदान केन्द्रहरु अपांगमैत्री बनेका छन् न अपांगता भएका मतदातालाई कसरी मतदानस्थलसम्म ल्याउने भन्ने योजना बनाइएको छ ।
यसले बालकृष्ण जस्ता धेरै दृष्टिवीहिन भएका मतदाता भने मतदानस्थलसम्म नै कसरी जाने, कसरी मतदान गर्ने भन्ने पिरलोमा छन् । रुपन्देहीकै सैनामैनाका दृष्टिवीहिन ७० वर्षीय गिरीप्रसाद भुर्तेलले घरमा समेत बलियो मान्छे नभएकाले मतदान गर्न कसरी जाने अन्योल भएको बताए । ‘मतदान गर्ने र आफ्ना नेता छान्ने मन त छ । तर, कसरी जाने हो थाह छैन,’ उनले भने ।
भुर्तेलले अपांगता र अशक्त व्यक्तिलाई राज्यले नै मतदान केन्द्रसम्म लैजाने र ल्याउने गर्नुपर्ने सुनेको भए पनि अहिलेसम्म त्यस्तो सुविधा नपाएको बताए । ‘कुनै कुनै चुनावमा दलका मान्छे आउँछन् र जबर्जस्त आफ्ना मान्छेलाई भोट हाल्न दबाब दिन्छन्,’ उनले भने, ‘तर सरकारी तवरबाट सहयोग भएको छैन ।’
पछिल्लो जनगणना अनुसार देशभरमा करिब ३० लाख विभिन्न खालका अपांगता भएका व्यक्ति छन् । तीमध्ये १ लाख १० हजार अपांगता भएका व्यक्ति अरुको सहारामा मतदान केन्द्रसम्म जानुपर्ने बाध्यतामा छन् । नियमत: अरुको भर पर्ने अपांगता भएका व्यक्तिलाई मतदानस्थलसम्म ल्याउने र लैजाने र मतदान गर्ने व्यवस्था राज्यले गर्नुपर्छ ।
तर, सरकारले यसबारे ध्यान नै नदिएको अपांगता भएका व्यक्तिहरुको गुनासो छ । ह्वीलचियर प्रयोगकर्ता पोमनारायण अधिकारी कतिपय मतदानस्थलमा अपांगता भएका व्यक्ति जानै नसक्ने बताउँछन्। मतदान गर्ने स्थलसम्म ह्वीलचियरमा जानेगरी व्यवस्था गर्न धेरै पटक माग गरे पनि पूरा नभएको उनको भनाइ छ । ‘यही कारण धेरै ह्वीलचियर प्रयोगकर्ता मत हाल्न नै जाँदैनन् । जानेले अरुले देख्नेगरी मत हाल्नुपर्ने अवस्था छ,’ उनले भने ।
अपांगता अधिकारकर्मी सावित्रा घिमिरे अपांगता कसलाई कतिबेला हुन्छ थाह नहुने भए पनि आपांगताप्रति राष्ट्रको धारणा उदार नभएको बताइन् । ‘अपांगता भएका व्यक्तिको जीवन सहज बनाउन मात्र होइन उनीहरुको मताधिकारको सही उपयोग गराउन मतदानस्थलसम्म पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको विशेष व्यवस्था राज्यले गर्नैपर्छ,’ उनले भनिन् ।
