महोत्तरी — महोत्तरीको ४ सय ९७ मतदान केन्द्रमध्ये दुई केन्द्रको नेतृत्व महिलाले मात्रै गर्ने भएका छन् । जिल्लाको दक्षिणतर्फ जलेश्वर नगरपालिको एउटा केन्द्र र उत्तरतर्फ बर्दिबास नगरपालिको एक केन्द्रमा महिलालाई मात्र नेतृत्व दिइएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अधिकृत सुबोध महतोले जानकारी दिए ।
जलेश्वरको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा रहेको केन्द्रको नेतृत्व अधिकृत पुनम श्रेष्ठले गर्ने र रमा शर्मा ढकालले बर्दिबास २ को जनता मावि केन्द्रको नेतृत्व गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ ।
बर्दिबासको जनता मावि केन्द्रमा सुरक्षाकर्मीसमेत महिला नै परिचालन गरिएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । निर्वाचन कार्यालयका कर्मचारी ७ जना र सुरक्षाकर्मी ५ जना सबै महिला मात्रै केन्द्रमा खटाइएको सापकोटाले बताए । सक्षम महिलालाई अवसर दिएर केही फरक गरौँ भन्ने उद्देश्यका साथ महिलामैत्री केन्द्र बनाइएको सापकोटाले बताए ।
महोत्तरीका ४ सय ९७ केन्द्रमध्ये ३१ केन्द्रमा महिलाले नेतृत्व गर्दैछन् भने २ वटा केन्द्र महिलाले मात्रै चलाउने भएका छन् । जिल्लाका सबै केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी पुगिसकेका र मतदानका लागि सम्पूर्ण तयारीसमेत पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्पूर्ण महिला टोलीसहित निर्वाचन केन्द्रमा पुगेकी बर्दिबास-२ की मतदान अधिकृत रमा शर्मा ढकालले सबै तयारी सकेर अब मतदाता पर्खिरहेको बताइन् ।
आफूलाई नेतृत्व दिएर निर्वाचन कार्यालयले महिलालाई अवसर दिएको उनले बताइन् । ‘काम सजिलो हैन तर अप्ठ्यारो पनि छैन‚’ ढकालले भनिन्, ‘महिलालाई दिएको अवसर हो । म चुनौतिसँग जुध्दै निर्वाचन सम्पन्न गराउँनेछु ।’
मतदानको समयमा वर्षा हुन सक्ने भएकाले मतदान जारी राख्न आवश्यक तयारी पनि गरिएको निर्वाचन अधिकृत महतोले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रलाई वर्षाको समय पनि मतदान गर्न सकिने गरी तयारी गर्न भनिएकाले सबै केन्द्रमा आवश्यक तयारी गरिएको उनले बताए ।
