मंगलसेनको तीन वटै मतदान केन्द्रमा सम्पूर्ण जिम्मेवारी महिलालाई- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंगलसेनको तीन वटै मतदान केन्द्रमा सम्पूर्ण जिम्मेवारी महिलालाई

मेनुका ढुंगाना

अछाम — अछामको सदरमुकाम मंगलसेन नगरपालिका-५ को मतदान सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । नमुना मतदान केन्द्रको रुपमा मंगलसेन नगरपालिका-५ को ३ वटा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षा प्रमुखको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको हो ।

मंगलसेनमा रहेको तीनवटा मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाको प्रमुख जिम्मेवार पाएकी असई तामाङ । तस्बिर : मेनुका ढुंगाना/ कान्तिपुर

शोडषा मावि मंगलसेनमा रहेको मतदान केन्द्र ‘क’ की मतदान अधिकृत देवसरा कुमारी थापाले पहिलो पटक मतदान अधिकृतको जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा लिइएको बताइन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा जिल्ला अस्पताल अछाममा कार्यरत भएको बेला शोडषा माविको मतदान केन्द्रमा स्वयंसेवक भएर पहिलो पटक चुनावमा खटेको देवसराले बताइन् ।

२०७० सालको संविधान सभा निर्वाचनमा त्रिपुरा सुन्दरी श्रीकोटमा सहायक कर्मचारी र २०७४ सालको स्थानीय तहको निर्वाचनमा रामारोशनको शान्तडामा सहायक मतदान अधिकृतको रुपमा काम गरेको उनले बताइन् ।

साँफेबगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख (अधिकृत छैटौं) मा कार्यरत थापाले मतदान अधिकृतको जिम्मेवारीले आत्मविश्वास बढाएको बताइन् । ‘मैले नेतृत्व गरेको मतदान केन्द्रमा ७ सय २८ जना मतदाता छन् । अन्य ४ जना कर्मचारी र सुरक्षाकर्मी पनि महिला नै हुनुहुन्छ,’ उनले भनिन्, ‘महिलाको क्षमतामाथि नै अविश्वास गर्ने मानसिकता अझै छ त्यही कुरालाई हामी सबैले चुनौतीका रूपमा लिएका छौं । मतदान सम्पन्न गर्न सबैको साथ पाएका छौं ।’

शोडषा मावि मंगलसेनमा नै रहेको मतदान केन्द्र ‘ख’ की मतदान अधिकृत कमला खड्काले पनि पहिलो पटक नै चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएको बताइन् । २०६४, २०७० र २०७४ को निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा निर्वाचनमा खटिएको उनले बताइन् ।

मष्टाबण्डाली स्वास्थ्य चौकी कमलबजार नगरपालिका ९ की इन्जार्च समेत रहेकी खड्काले पनि यसलाई अवसरको रुपमा लिइएको बताइन् । ‘जिल्लाको सुरक्षा निकायका प्रमुख , मुख्य निर्वाचन अधिकृतको साथ र सहयोगले हौसला मिलेको छ’ उनले भनिन् ,‘महिला मात्रै निर्वाचनमा खटिँदा केही समस्या पनि भएका छन् । २ जना कर्मचारी गर्भवती हुनुहुन्छ ,१ जनाको साथमा बच्चा छ । यस्ता कारणले पनि केहि समस्या भने छन् ।’

मंगलसेनस्थित शोडषा माविका रहेको मतदान केन्द्र ‘ग’ की निर्वाचन अधिकृत गंगा बुढामगरले पहिलो पटक निर्वाचनमा खटिएको बताइन् । उनी जिल्ला अस्पताल अछामका कार्यरत सिनियर नर्सिङ अधिकृत हुन् । ‘अस्पतालको आपत्कालीन सेवामा बस्नु पर्ने भएकाले अहिलेसम्म म कुनै पनि चुनावमा खटिएको छैन । पहिलो पटक चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएकी छु’ उनले भनिन् ,‘तीनवटै केन्द्रमा महिला नै मतदान प्रमुख भएकाले समन्वय गरेर अगाडि बढिरहेका छौं । सजिलो नै छ ।’

तीनवटा मतदान केन्द्रको शान्ति सुरक्षाको जिम्मेवारीमा पनि महिलालाई नै प्रमुख रुपमा जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत असइ बुद्धि कुमारी तामाङको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी खटिएका छन् । ‘सबैबाट सहयोग पाएका छौं । शान्ति सुरक्षाको पाटोलाई पनि मजबुत बनाएका छौं ।’ शोडषा मावि मंगलसेनको तीन वटा केन्द्रमा २२ सय ६४ मतदाता रहेका छन् ।

प्रकाशित : वैशाख २९, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परे एफवान सफ्टका अध्यक्ष ढकाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेस्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।

ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेस्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेस्ट अफ वर्ल्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेस्ट अफ वर्ल्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ता, उदीयमान उद्यमी र खुला एवम् समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।

सूचीमा समावेश भएपछि एफ वान सफ्ट ग्रुपका अध्यक्ष ढकालले भने ‘मैले सधैं मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाउन सकियोस् ।’ यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसाग साझेदारी गर्दै रेस्ट अफ वर्ल्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×