कालीकोट — मुख्य दलहरुमा रहेर वर्षौं लामो राजनीति गरेपनि स्थानिय तह चुनावमा टिकट नपाएपछि स्वतन्त्रको हैसितयमा उठेका उम्मेदवारहरू नै कालिकोटमा मुख्य दलका उम्मेदवारका निम्ति चुनौती बनेका छन् ।
खाडाचक्रको नगर प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य कमलबहादुर शाही हास चुनाव चिन्ह् लिएर चुनावी प्रतिस्पर्धामा छन् । एमालेका तत्कालीन उपसचिव ५६ वर्षीय शाही ०७४ को चुनावमा पनि एमालेको तर्फबाट आकांक्षी भएपनि टिकट पाएनन् । एमाले विभाजन पछि एकीकृत समाजवादीमा पुगेका शाही गठबन्धनका कारण टिकट नपाउने भएपनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा ओर्लिए ।
स्वतन्त्र भएपनि शाहीले चुनावी प्यानल बनाएको छन् माओवादी केन्द्रका प्रदेश सदस्य गणेशबहादुर शाहीसँग । शाही माओवादी केन्द्रबाट उपप्रमुखमा उठेका छन् । अनौठो त के छ भने खाडाचक्रका केही वडामा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन भएको छ भने पालिकाको नेतृत्वको लागि एकीकृत समाजवादी र माओवादीबिच तालमेल छ ।
कर्णाली प्रदेश स्तरीय ५ दलीय गठबन्धनले खाडाचक्रको प्रमुख पद कांग्रेसको भागमा पारेको थियो । गठबन्धनको तर्फबाट भन्दै कांग्रेसकी महिला नेतृ ताराकुमारी शाह प्रमुख र कांग्रेसकै नेत्रबहादुर शाहीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उपप्रमुखका उम्मेदवार शाही जिल्लाकै ठूला निर्माण व्यवसायीमा गनिन्छन् । विद्रोह गर्दै कमलले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनको निर्णय विपरित समाजवादी र माओवादी केन्द्रले उनलाई सर्मथन गरेका छन् ।
खाडाचक्रकै जस्तो अवस्था देखिन्छ सान्नीत्रिवेणी गाउँपालिकामा पनि । माओवादी केन्द्रले पहिलेकै अध्यक्ष डम्बरवहादुर शाहीलाई दोहोर्याए पछि पार्टीका नेता महेश केसीले स्वतन्त्रबाट उम्मेदवारी दिए । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा देखिएका छन् ।
माओवादी केन्द्रबाटै २ जनाले स्वतन्त्रमा पालिका अध्यक्षमा उम्मेदवारी दिएकोमा देवनारायण संज्यालले फिर्ता लिए पनि मुम्राका ४६ वर्षीय युवा नेता महेश केसीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनले भने,‘सधैं पहुँचको आधारमा टिकट दिन थालिएपछि जनताको मागअनुसार मेरो उम्मेदवारी परेको हो ।’
सबैभन्दा बढी मतदाता भएको नरहरिनाथ गाउँपालिका नेत्रविक्रम चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ । खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, नवीन विश्वकर्मा हितमानलगायतको गृह पालिका नरहरिनाथ विप्लव समूहको तर्फबाट केन्द्रीय सदस्य एटम बिसीले स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन् । एटम माओवादी विभाजन हुनुभन्दा पहिले कालीकोट जिल्ला इन्चार्ज थिए ।
यसअघि एमालेबाट गाउँपालिका अध्यक्षमा जितेका धीरबहादुर विष्ट अहिले एकीकृत समाजवादीमा छन् । उनी माओवादी केन्द्रसँगको तालमेलमा अध्यक्ष पदमा उठेपनि स्वतन्त्र उम्मेदवार उनका बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवार नगिन्द्र विष्टले स्वतन्त्र उम्मेदवारसँग कडै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
रास्कोट नगरपालिकामा भने चन्द समूहबाट स्वतन्त्रको हैसियतमा नगर प्रमुखको उम्मेदवारी दिएकी धिरेन्द्रा उपाध्यायले संसद्वादी दलका उम्मेदवारहरुलाई चुनौती दिने देखिन्छ । उपाध्याय २०६४ को संविधानसभा सदस्य हुन् ।
