प्रमुख दल नै बोकाउँछन् बालबालिकालाई झण्डा

वैशाख २६, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । सिन्धुपाल्चोकमा प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादीले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन् ।

प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर दलहरूले बालबालिकालाई प्रयोग गरेका हुन् ।

बलेफी गाउँपालिका जुरेक्षेत्रमा नेकपा एमालेले घरदैलो अभियानमा आएका एक १४ वर्षीय किशोरले रमाइलोका लागि प्रचारप्रसारमा आएको बताए । ‘स्कुल बन्द छ, गाउँभरका सबै मान्छे घुम्न आए, त्यही भएर रमाइलो गर्न साथीसँग आएका हौँ, यस्तो गर्नु हुँदैन भन्ने थाहा भएन, अरुले जस्तै झण्डा बोकियो, टिसर्ट लगायौँ,’ उनले भने ।

उनीसहित चुनावी सवारीको लर्कोसहितको र्‍यालीमा दर्जनौँ बालबालिकालाई झण्डा बोकाएर सवारीमा हालेर मुख्य बजार घुमाइएको थियो । आइतबार बलेफी गाउँपालिकाको धुस्कोटमा बालबालिकालाई रुख चिह्न अंकित टोपी, टिसर्ट लगाउन दिएर घरदैलो अभियानमा प्रयोग गरेको छ । ‘हामी त गीतमा नाच्न आएको, नयाँ कपडा पाइयो, झण्डा हेर्नुस् त, पार्टीको झण्डा बोक्न र टिसर्ट लगाउन हुन्न र ?,’ १३ वर्षीया एक किशोरीले बताइन् ।

यसअघि माओवादी केन्द्रले पनि जिल्लाको विभिन्न स्थानमा निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको थियो । जिल्लाको तीन नगर र ९ गाउँपालिकाभर यी तीन दलले मतचिन्ह भएको झण्डा बोकाएर दलको प्रशंसा गर्ने गीतमा नचाउनसमेत भ्याएका छन् । बलेफीमा एमालेले आफ्नो चुनावी प्रचारमा बालबालिकालाई नचाएको भिडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो ।

बालबालिका ऐनको दफा ६६ (२) मा राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सहभागी गराउन नहुने व्यवस्था छ । ऐनअनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । बालबालिकालाई जुलुसुमा सहभागी गराए र राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । निर्वाचन आचारसंहितामा १८ वर्षभन्दामुनिका बालिबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने उल्लेख छ ।

अहिलेसम्म जिल्लाभरबाट यस्तोबारे उजुरी केही नआएको मुख्य निर्वाचन अधिकृत  चन्द्रप्रकाश तिवारीले बताए । ‘यसबारे दलका प्रतिनिधिसँग संवेदनशील रुपमा आवश्यक छलफल भइरहेको छ, यसबारे केही उजुरी भने आएका छैनन,’उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully