पैसा बाँड्न आएको आरोप लगाउँदै लोसपा उम्मेदवारको गाडी नियन्त्रणमा

निर्वाचन अधिकृतको कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ ।

वैशाख २६, २०७९

राजविराज — चुनावमा मतदाता प्रभावित पार्न पैसा बाँड्न आएको आरोप लगाउँदै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-५ का स्थानीयहरुले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का उम्मेदवारको गाडी नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् ।

आइतबार राति साढे १० बजे गाउँपालिकामा लोसपाका उम्मेदवार सतिशकुमार सिंहको स १ च ११११ नम्बरको स्कारपियो गाडीलाई वडा नम्बर ५ का स्थानीय बासिन्दाहरुले पैसा बाँड्न आएको आरोप लगाउँदै घेरा हालेका थिए ।

उम्मेदवार वाहेकका अन्य तीन जना सवार उक्त स्कारपियो गाडीलाई स्थानीयहरूले मध्यरातसम्म चारैतिरबाट घेरा हालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

उक्त टोलीले गाडी नियन्त्रणमा लिएर नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा लगी जाँच गर्दा ९४ हजार ३ सय रुपैयाँ फेला परेको सप्तरी प्रहरीले जनाएको छ । 

प्रहरीले उक्त रकम र गाडी नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ल्याएको थियो भने गाडीमा सवार तीन जनालाई सोमबार बिहान हाजीर हुने गरी छोडेको थियो । 

जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले उक्त विषय निर्वाचन आयोगको कार्यक्षेत्रभित्र रहेकोले रकम, सवारी साधन र तीन जना व्यक्तिलाई थप अनुसन्धानका लागि तिलाठी कोईलाडी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पठाइएको बताए ।

तिलाठी कोईलाडी गाउँपालिकाका निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले उक्त घटनाबारे अनुसन्धान सुरु भएको बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोईलाडीका अनुगमन अधिकृत केशव झाले पैसा बाँड्न लागेको आरोपमा सवारी साधन र रकमसहित तीन जना व्यक्तिलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि पठाएको र अनुसन्धान सुरु गरिएको बताए ।

झाका अनुसार अहिले उनीहरूमाथि अनुसन्धान सुरु भएको छ । लोसपाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्षका उम्मेदवार सतिशकुमार सिंहले भने उक्त गाडी आफ्नै भएको बताएका छन् । चुनावी क्षेत्रमा उक्त गाडीमा आफ्ना साथीहरू पैसा बाँड्नका लागि नभइ भेटघाटका लागि गएको सिंहले बताए ।

‘तिलाठी कोईलाडी ५ बनरझुलामा केही दिनअघि मृत्यु भएका एक जना नेताको घरमा भेटघाट गर्न केही साथी जानुभएको थियो, पैसा बाँड्नका लागि होइन,’ सिंहले भने, ‘भेटघाट गर्न जाँदा जबर्जस्ती घेरा हालेर पैसा बाँड्न आएको आरोप लगाउँदै प्रतिस्पर्धी उम्मेदवार र तिनका समर्थकहरुले निषेधको राजनीति गर्न खोजे ।’

तिलाठी कोईलाडी गाउँपालिकामा जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले भने पैसा बाँडेर मतदातालाई प्रभावमा पार्न खोजिएको आरोप लगाउँदै त्यस्ता उम्मेदवारहरुमाथि कारबाहीको माग गरेका छन् ।

जसपाका अध्यक्ष पदका उम्मेदवार निरज मुक्तिले मतदातालाई प्रभावित गर्ने र मत किन्ने अभिप्रायले पैसा बाँड्न खोजिएको आरोप लगाउँदै उम्मेदवारमाथि नै कारबाही हुनुपर्ने माग गरे ।

Link copied successfully