रुकुम पश्चिम: झडप नगर्न कांग्रेस र माओवादी केन्द्रको निर्देशन

वैशाख २६, २०७९

हरि गौतम

रुकुम पश्चिम — चुनाव प्रचार प्रसारको क्रममा दिनहुँ भइरहेका झडप प्रति जिल्लाका मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

दुवै दलले सयुंक्त अपिल जारी गर्दै दिनहुँ भइरहेका झडपका कारण शान्तिपूर्ण रुपमा हुने निर्वाचन प्रभावित हुने बताएका छन् । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले हस्ताक्षर गरिएको अपिलमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउनका लागि यस्ता गतिविधि नगर्न अनुरोध हुन् ।

जिल्लाका विभिन्न ठाउँमा यी दुवै दलका कार्यकर्ताहरुले झडप गरिरहेका छन् । विभिन्न बाहानमा उनीहरु झडप गरिरहेको, मान्छे घाइते भइरहेकाले मतदाता र सर्वसाधारणमा नराम्रो सन्देश गएको भन्दै दुई दलले अगामी दिनमा यस्ता कार्य नगर्न कार्यकर्तालाई संयुक्त रूपमा अनुरोध गरेका हुन् ।

अपिलमा उत्तेजना फैलाउने भाषण नगर्न, युनिफर्म लगाएर शक्ति प्रर्दशन नगर्न, एउटा वडामा अर्को वडाका मान्छेहरु नजान र नबोलाउन भनिएको छ । अहिले भइरहेको झडपजन्य गतिविधि रोकी मैत्रीपूर्ण, स्वच्छ र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण निर्माणमा सबैको भूमिका हुने पनि अपिलमा उल्लेख गरिएको छ । 

त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा दुवै पक्षबीच झडप भएको छ भने अन्य ठाउँमा पनि सानातिना झडप र विवादका घटना भइरहेका छन् ।

हरि

Link copied successfully