अन्तर्वार्ता

'राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएकी हुँ' [भिडियो]

हामी त्यतिन्जेलसम्म लड्न तयार छौं जबसम्म नागरिकले आफ्नो मन र मत परिवर्तन गर्नुहुन्न ।

काठमाडौं महानगरपालिकामा मेयरको चुनावी प्रतिस्पर्धामा ५६ जना उम्मेदवार छन् । प्रतिस्पर्धामा ठूला सानादेखि स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । यही प्रतिस्पर्धामा वैकल्पिक राजनीतिको एजेन्डा बोक्दै आएको विवेकशील साझा पार्टी पनि उत्रिएको छ ।

'राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएकी हुँ' [भिडियो]

गत चुनावमा विवेकशील र साझा छुट्टाछुट्टै पार्टीको रुपमा चुनावमा होमिएर काठमाडौंमा अर्थपूर्ण मत ल्याएका थिए । अहिले यी दुवै पार्टी मिलेर विवेकशील साझा बनेको छ । तर यो पार्टी पनि आन्तरिक विवादका कारण छिन्नभिन्न भएको अवस्थामा चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यसै सन्दर्भमा विवेकशील साझाका तर्फबाट काठमाडौं महानगरकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटासँग इकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

स्थानीय तह निर्वाचनमा उम्मेदवार घरदैलो गरिरहेका छन्, तपाईंको व्यस्तता कस्तो छ ?

वैशाख १ गतेबाट निरन्तर घरदैलो र अन्तरक्रिया कार्यक्रममा लागिरहेका छौं । घरदैलोसँगै अन्तरक्रिया र बहसको माध्यमबाट प्रचार गरिरहेका छौं । सम्भव भएसम्म डिजिटल माध्यम प्रयोग गरिरहेका छौं । आजको दिनसम्म एकछिन पनि फुर्सद छैन । बीचबीचमा अन्तर्वार्तामा जाने बाहेक प्रचारप्रसारमा व्यस्त छौं ।

घरदैलोमा गएर भोट माग्नु पुरानो शैली भयो, वैकल्पिक राजनीतिक दलले पनि त्यसैलाई पछ्याउनुभएको छ है?

हामी योभन्दा बाहिर सम्भावना के छ भन्ने हेर्न चाहन्छौं । मतदातालाई मेरो घरमा उम्मेदवार आएकै छैन, भोट मागेकै छैन भन्ने हुने रहेछ । हामीजस्तोले बहसको राजनीतिमा आउनुपर्छ। नयाँ दलहरू आउँदैछौं भनिसकेपछि प्रचारलाई बहसको मोडलमा पनि लिनुपर्छ । प्यानल बहसलाई सञ्चार माध्यमले प्रशय देओस् भन्ने चाहन्छु । पछिल्लो समय कस्तो अवस्था सिर्जना भइदियो भने आमन्त्रण आउँछ, मैले हुन्छ भन्छु तर मेरा नाम चलेका प्रत्याशीहरूले हुँदैन भनिदिनुहुन्छ । बहसको सामना गर्न पाइएको छैन ।

बहस किन आवश्यक छ भन्दा यो महानगरलाई नेतृत्व गर्ने मेयर उम्मेदवार कस्तो छ, उसले जनताबाट उठेका प्रश्नलाई कसरी सम्बोधन गर्छ, त्यो बहसमा त तत्काल कुनै पनि अवस्था आउन सक्छ, त्यसलाई कसरी व्यवस्थापन गर्छ र केही आरोप लागिहाले त्यसलाई कसरी संवेदनशील भएर व्यवस्थापन गर्छ भन्ने बहसबाट बाहिर निस्किन्थ्यो, जुन हामीले गर्न पाइराखेका छैनौं ।

घरदैलो र डिजिटल क्याम्पेनिङमध्ये कुन बढी प्रभावकारी लागिरहेको छ ?

घरदैलो कार्यक्रमले मतदातासँग जोड्छ । डिजिटल क्याम्पेनको एउटा बेफाइदा हामी ठूलो मासमा पुग्न सक्छौं तर के निश्चित हुँदैन भने डिजिटल माध्यमबाट समर्थन गर्नेहरू काठमाडौं महानगरका मतदाता हो कि होइनन् ? त्यो समर्थन मतमा परिणत हुन्छ कि हुँदैन भन्ने चुनौती छ । त्यसले उम्मेदवारलाई सामाजिक सञ्जलमा रहेका व्यक्तिहरू माझमा भने स्थापित गराउँछ । जब घरदैलोमा जान्छौं' तपाईंलाई मैले त्यो बहसमा देखेको थिए, समाचारमा हेरेको थिए, तपाईंको कुरा राम्रो लाग्छ' भन्दा कुरा राख्न सजिलो हुने रहेछ ।

तपाईंले मतदाताहरूसँग के भनेर भोट मागिरहनुभएको छ, कस्ता जिज्ञासा आइरहेका छन् ?

मतदातालाई फरक सोच बोकेर राजधानीको मात्रै होइन राजनीतिको फोहोर पनि सफा गर्न आएको छु त्यसैले व्यक्तिलाई हेरिदिनुस्, विश्वास गरिदिनुस् भनिरहेका छौं । उहाँहरूले विश्वास गर्ने आधार के भनेर प्रश्न गर्नुहुन्छ । तपाईं भ्रष्ट दलका, भ्रष्ट नेतालाई विश्वास गर्न सक्नुहुन्छ, घोषणापत्रमा लेखिएका हावादारी गफलाई विश्वास गर्नुहुन्छ भन्ने त हामीले प्रतिज्ञापत्रमा भनेका छौं । पाँच वर्षदेखि राजनीतिक सिन्डिकेटलाई तोड्न लागिराखेका छौं, राजनीति फोहोरी खेल हो यो फोहोरलाई बढार्न झाडु समातेर आइराखेका छौं, हामीले भ्रष्टाचार नियन्त्रण, सुशासन, घरमै सेवा प्रवाह गर्छौं भनिराखेका छौं । सुरक्षित, सुलभ, व्यवस्थित, सार्वजनिक यातायात, खुला क्षेत्र विस्तार, नेवा: संस्कृतिको पुनर्जागरणको कुरा गरिराखेका छौं । तर पनि तपाईंहरूलाई विश्वास गर्ने के ले भन्नुहुन्छ, एजेन्डा त जसले पनि राम्रो ल्याउँछ भन्नुहुन्छ भनिरहनुहुन्छ ।

हामीले उहाँहरूलाई कसरी विश्वस्त गरिरहेका छौं भन्दाखेरि अन्तिममा गएर जसले पनि म:म र चाउमिन रोजिन्छ भन्ने एउटा बिम्ब छ । जब तपाईंले खाइरहेको म:म, चाउमिनले स्वास्थ्य खराब गर्छ भने तपाईंले घरको स्वस्थकर खाना त खानुहुन्छ नि ! त्यस्तै महानगरमा तपाईंले रोजेका दलका नेताहरूले काम गरेनन् भने अब महानगरमा नेता परिवर्तन गर्नुपर्‍यो, तपाईंको मन र मत परिवर्तन गर्नुपर्‍यो, अनि पो महानगरमा ठिकठाक काम हुनसक्छ भनिरहेका छौं । उहाँहरूले अन्य दलले काम गरेनन् तपाईंजस्तो व्यक्तिहरू आउनुपर्छ, नआत्तिनुहोस हामी साथमा छौं भन्ने हौसला प्रदान गरिरहनुभएको छ ।

तपाईंसँग महानगरका ठूला समस्याका रूपमा रहेका खानेपानी, फोहोर र यातायातको समाधान गर्ने योजना के छन्?

दशकौंदेखि राजनीतिक फोहोरी खेल खेलेकाले फोहोर व्यवस्थापन सबैभन्दा ठूलो समस्या भएको छ । म मेयरको पदमा पुगेपछि सबैभन्दा पहिला गर्ने काम फोहोर व्यवस्थापनको लागिकुहिने र नकुहिने फोहोर घरमै, स्रोतमै छुट्याउँछौं । कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्न सकिन्छ । नकुहिने फोहोर पुनः प्रयोग गर्न सकिने वस्तु बनाउन सकिन्छ ।गोकर्णेश्वरमा फोहोर व्यवस्थापन भइरहेको छ । ल्यान्डफिल्ड साइटमा भनेका कुरा पूरा गरिदिएको छैन । पाँच वर्षभित्र ल्यान्डफिल्ड साइट हटाउँछु भन्दा त नहोला तर ल्यान्डफिल्ड साइटमाजे बाचा गरेका थियौं त्यो कुरा पूरा गर्न सकिन्छ । फोहोरलाई मोहोरमा परिवर्तन गर्नविदेशमा भइरहेका अभ्यासलाई दाहरणीय रूपमा लिएर काम गर्न सकिन्छ ।

म सानो हुँदा नै सुनेको- मेलम्चीको पानी आउँछ । तर, अहिलेसम्म धारामा पानी आउँदैन ।यहाँ भएका खोलानाला, वातावरण ध्वस्त पार्दैगर्दा इनार, रबोरिङबाट पानी आउँदैन । पहिला त आफूले लिएका योजनामा ठिकठाक काम गर्न सक्नुपर्‍यो । पानीको कुरा गर्दा प्रकृतिसँग जोड्नुपर्छ । वातावरण संरक्षण र खोलानाला सरसफाइमा पनि ध्यान दिने हो । विज्ञको टोलीलाई काम गराउनुपर्छ ।

सार्वजनिक यातायात न व्यवस्थित छ न सुलभ । यसलाई व्यवस्थित, सुलभ र सुरक्षित बनाउनुपर्छ । बिस्तारै विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ । महानगरमा भएका यातायातका साधनलाई एकै ठाउँ ल्याएर सार्वजनिक निजी साझेदारीमा काम गर्नुपर्छ ।

हालका मेयरले २०७४ सालमा मेट्रो र मोनोरेलका कुरा गरेर चुनाव जित्नुभएको थियो, तपाईंका त्यस्ता योजना छैनन् ?

हामीले मेट्रोरेलका कुरा गरेका छौं तर त्यो पाँच वर्षमा नै पूरा हुने प्रतिबद्धता होइन । विज्ञहरूसँग सल्लाह गरेर हामीले काम सुरुवात गर्छौं तर पाँचै वर्षमा मोनोरेल र मेट्रोरेल ल्याउँछौं भनेर झुटा आश्वासन बाँडेका छैनौं ।

काठमाडौंका ढुंगेधारा सुकिसकेका छन्, नदीहरू मृत भइसके । सहर हेर्दा कंक्रिटको जंगलमा परिणत भएको छ,यसबारे केही सोच्नुभएको छ ?

यहाँका ढुंगेधारा, हिटी, नदीनाला, खोला, पोखरीलाई हामीले संरक्षण गर्नुपर्योछ । त्यस्ता ठाउँहरू कति त मासिएर गइसकेका छन् । तिनको संरक्षणमा स्थानीयको संलग्नता गर्नुपर्‍यो । यो हाम्रो सम्पती हो भन्ने चिनाउनुपर्‍यो । अहिले कसैलाई मतलब छैन । मेयरको कुर्सीमा बसेको व्यक्तिले के बुझ्नुपर्‍यो भन्दा मठमन्दिर, ढुंगेधारा, हिटीदेखि पोखरी सबै हाम्रो सम्पति हो । यसलाई मास्नु हुँदैन, संरक्षण गर्नुपर्छ ।

इच्छाशक्ति भएको मेयर भए दीर्घलिन नीति भयो भने काम गर्न सकिन्छ । वातावरणका हकमा कोही विदेशी पाहुना आउँदैछ भने हतारमा रुख रोप्ने वा फ्लेक्स टाँस्ने गरियो । दीर्घकालीन केही योजना छैन । म मेयरको कुर्सीमा बसेपछि काठमाडौं महानगरपालिकालाई स्वच्छ र हरियाली बनाउनका लागि कति हजार वृक्षारोपण गर्नुपर्छ भन्ने हर्टिकल्चरिस्ट(विज्ञ)सँग सोध्नेछु । हाम्रोमा तीन फिटको फुटपाथ हुन्छ । त्यसैमा बिजुलीको पोल हुन्छ र त्यसैको छेउमा रुख रोपेका हुन्छौं, कम्तिमा त्यो गर्दैनौं ।

महानगरमा भ्रष्टाचार हुन्छ, सेवा प्रवाहमा सहजता छैन भनिन्छ त्यो रोक्नका लागि तपाईंका लागि योजना के हुन्?

महानगरको कुर्सीमा बसेको भोलिपल्टबाट सुरु गर्ने काम भनेको भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र सुशासन हो । विधिमा जे लेखिए अनुसारको शासन गर्नुपर्‍यो, व्यक्तिको होइन ।भ्रष्ट्राचार नियन्त्रण गर्न डिजिटल सेवा प्रदानगर्न सक्नुपर्‍यो । प्रणालीलाई डिजिटलाइज गर्नुपर्‍यो । हामी सबैसँग मोबाइल फोन छ, त्यसबाट सेवा माग गर्न पाउनुपर्‍यो ।नागरिकताको सिफारिस, मृत्युदर्ता, जन्मदर्ताको प्रमाणपत्र चाहियो भने वर्षौं पुरानो ढड्डा पल्टाउनुपर्ने अवस्था छ । यस्ता काम त घरमै बसेर डकुमेन्ट अपलोड गर्न र माग गर्न सकिन्छ। यसले भ्रष्टाचार नियन्त्रणमा कहाँनेर रोक लगाउँछ भने 'ए तपाईंको फाइल त पुरानो रहेछ, कहाँ गएर खोज्ने ? मलाई खोज्न यति चाहिन्छ, उति चाहिन्छ' भन्छ । तर डिजिटल प्रणालीमा १०० रुपैयाँ राखेको छ भने त्यसभन्दा बढी स्वीकार नै गर्दैन । प्रणालीअनुसार काम हुन्छ र भ्रष्टाचार नियन्त्रण हुन्छ।

नागरिकहरूलाई पनि जागरुक बनाउनुपर्नेछ । भोट बैंक बनाउनका लागि बृद्धभत्ता दिन घरघर जानै पर्दैन । त्यहाँ एउटा यस्तो व्यक्ति बस्नुपर्‍यो जसले प्रणालीमा रहेर काम गर्न सकोस् । सेवाका लागि मेयर को छ ? कुन दलको छ ? भनेर नचिने हुन्छ । तर मेरो प्रणालीले तपाईहरूलाई चिन्छ, त्यसले सेवाग्राही र मेरो पनि समय बचत हुन्छ । नागरिकलाई सुलभ ढंगले सेवा प्राप्त हुन्छ ।

मेयर उम्मेदवारहरूले यति मतले जित्छु भन्ने दाबी गरिरहनु भएको छ, तपाईंको क्यालकुलेसन के छ ?

म क्यालकुलेटर बोकेर हिँड्दैन । मलाई महानगरबासीले धेरै मतले जिताउने सोच्नुभएकाले एउटा सानो अंक भएनेर उहाँहरूलाई निरास गर्न चाहन्न । जित्नका लागि जति मत चाहिन्छ त्यो मत नागरिकहरूबाट प्राप्त गर्छु भन्ने मेरो आत्मविश्वास हो ।

स्थानीय तह सञ्चचालनका लागि वडासदस्य र वडा अध्यक्ष चाहिन्छन् तर तपाईंको पार्टीले किन थोरै मात्र वडामा उम्मेदवारी दिएको हो ?

हामीले जितको सम्भावना भएका वडामा मात्रै उम्मेदवार खडा गरेका छौं । जित्ने ठाउँमा फोकस भएर काम गर्ने भन्ने हो । ३२ वडालाई नै एकत्रित बनाएर काम गर्न किन गाह्रो हुँदैन ।मलाई ५ वर्षको राजनीतिक यात्राले यति निखारीदियो कि भ्रष्ट नेतासँग र राम्रा कर्मचारीसँग पनि डिल गर्न सकिन्छ । अन्य पार्टीका नेता र कार्यकर्तासँग पनि डिल गर्ने क्षमता विकास भएको छ । इमानदार भएर काम गरेपछि वडाबाट जितेर आएको व्यक्तिलाई त्यहाँका जनताले नै दबाब दिनुहुन्छ । मसँग विज्ञको टीम र नागरिकको साथ हुन्छ । जब नगारिकको साथ हुन्छ काम गर्न गाह्रो हुँदैन ।

महानगरलाई लक्षित गरेर २०७४ सालको चुनावमा पाएको मत बढाउन विवेकशील साझाले के काम गरेको छ?

पार्टीले पाँच वर्ष अगाडि जुन मत पाएको थियो त्यो बढ्छ मात्रै होइन मेरो अर्जुन दृष्टि भनेको जित हो । जित उन्मुख नै हामीले काम गरिरहेका छौं । महानगरवासीले यसपालि मःम, चाउमिन रोज्नुहुन्न भन्नेमा म विश्वस्त छु । उहाँहरूले त्यो रोज्दा काठमाडौं महानगरले दुःख पाइरहेको छ, बिरामी भइरहेको छ । महानगरवासीले तिनै दलका व्यक्तिहरूलाई रोज्ने हो भने महानगर कोमामा जान्छ भन्ने बुझिसक्नुभएको छ । महानगरलाई जीवन्त बनाउनका लागि यसपाली उहाँहरूले आफ्नो मत परिवर्तन गर्नुहुन्छ ।

तपाईंको विरुद्धमा कांग्रेसबाट सिर्जना सिंह र एमलेबाट केशव स्थपित हुनुहुन्छ, उहाँहरूको उम्मेदवारीलाई कसरी हेर्नुभएको छ ?

कांग्रेसजस्तो पार्टीले महिला उम्मेदवार बनाएको छ । विवेकशील साझाले मेयर र उपमेयरमा महिला उम्मेदवार अगाडि सारिसकेपछि कांग्रेसले पनि महिला उम्मेदवार सारेकोमा म एकदमै खुसी छु । उहाँलाई शुभकामना पनि दिन्छु । तर, गणेशमान सिंह नअटेको पार्टीमा सिर्जना सिंहजीलाई कसरी काम गर्न दिन्छन् भन्ने लागेको छ । उहाँ राजनीतिमा निस्कृय हुनुहुन्थ्यो भनिसकेपछि कसरी काम गर्न दिन्छन् भन्ने हो ।

एमालेको उम्मेदवारको बारेमा जुन भन्नुभयो उहाँप्रति लागेको आरोप जबसम्म कानुनी रूपमा निराकरण हुन्न तबसम्म हामीले कसैलाई दानबीकरण गर्नु भएन । तर के सोच्नुपर्‍यो भन्दाखेरि त्यस्तो आरोप लागिराखेको छ भने उहाँलाई उम्मेदवार बनाउने कि नबनाउने ? हामी सुरक्षित महानगर बनाउँछौं भनेर एजेण्डामा लेख्छौं तर बोली र व्यवहारमा समानता हुनुपर्छ कि पर्दैन ? त्यसको निराकरण उम्मेदवारी दिनुपहिला हुनुपर्थ्यो कि पर्थेन ? नत्र भने त उहाँलाई हरेक अन्तर्वार्ता, बहसमा त्यो आरोपको कुरा उठ्छ । तर उहाँ भड्किनु हुन्छ । तपाईंको उम्मेदवारलाई तयार गर्नुपर्छ कि पर्दैन ? एमालेलाई के भन्न चाहन्छु भने उहाँहरूले ठूल्ठूला सपना त बाँड्नुभयो तर २५ वर्षमा पनि एउटा सक्षम, इमानदार, बेदाग नेता जन्माउन नसक्ने पार्टीलाई कसरी भोट गर्ने ? ४६ वटा महिलावादी संगठनले विज्ञप्ति नै निकालेको छ । तपाईं महिला हक र अधिकारका कुरा गर्नुहुन्छ भने त्यो विज्ञप्तिलाई कसरी सम्बोधन गर्नुहुन्छ ? दलमा छलफल गर्नुपर्ने हो, किन छलफल गरेन ?

पार्टीका हिसाबले तपाईंका प्रतिद्वन्द्वी बलिया देखिन्छन् । यो बीचमा तपाईंको पार्टी फुटेको छ । २०७४ का उम्मेदवार तपाईंसँग हुनुहुन्छ । यस्तो अवस्थामा गठबन्धन बनाएर आउने सोच्नुभएन ?

हाम्रो पार्टी फुटेको छैन, विचारको विमती हो । राजनीतिक पार्टी निराखिँदै गरेको हो । कानुनी रूपमा पार्टी एक छ । विचारको विमति त हरेक दलमा भइ नै हाल्छ । पहिलेका दुई उम्मेदवारमध्ये एउटाले म कुनै पनि राजनीतिक दलका आबद्ध छैन भनेर सार्वजनिक सूचना निकाल्नुभएको छ । किशोर थापा र निरुपमा यादवहरू मसँगै हुनुहुन्छ । किशोरजीले त घोषणासभामा उम्मेदवार समीक्षा बास्कोटा हो तर भोलि काम गर्ने बेलामा म लगायत हामी सबै विज्ञ उहाँको अन्य हात भएर काम गर्छौं भन्नुभएको छ । उहाँले समीक्षाले जितेपछि म भत्ता नलिई काम गर्छु भन्नुएको छ ।

विचारभन्दा माथि देश भनिरहेको तपाईंको पार्टीले एकातिर शानस प्रणाली बदल्नुपर्छ भनिरहेको छ भने अर्कोतिर राप्रपासँग पार्टी एकताका लागि छलफल भयो भनेर तपाईंको अध्यक्षले भन्नुभएको छ, यो किन भइरहेको छ ?

पार्टीले विचारभन्दा माथि देश दस्तावेज ल्यायो । त्यसलाई केन्द्रीय समितिले दुई तिहाइबाट पास गर्‍यो । त्यसमा प्रदेश खारेजी, स्थानीय निकायलाई पुनर्संरचना गर्नुपर्छ, सुदृढीकरण र अझ बलियो बनाउनुपर्छ भनिएको छ । धर्मका लागि जनमतसंग्रह माग गरिएको छ । बाँकी कुरामा केही बोलिएको छैन ।

अर्को कुरा, राप्रपासँगको एकीकरण आजको दिनमा सम्भव छैन । उहाँहरूले आफ्नै उम्मेदवार लिएर खडा गर्नुभएको छ । हामी आफ्नै तराजु चुनाव चिह्नमा लडिरहेका छौं । सम्भावना राजनीतिमा जहिले पनि हुन्छ जबसम्म त्यो टेबुलमा बसेर वार्ता हुँदैन ।

वैकल्पिक राजनीति भनिरहेको पार्टीको एउटा वंशलाई नै देश सञ्चालन गर्न दिनुपर्छ भन्ने र त्यसका लागि लड्ने पार्टीसँग एकताको सम्भावना हुन्छ ?

छलफल गर्दा त केही पनि बिग्रिँदैन । तर आजको दिनमा त्यो सम्भावना छैन । भएको भए म उम्मेदवार हुँन्नथे होला वा राप्रपाले मलाई समर्थन गर्थ्यो होला।

तपाईं जिते त शासन चलाउनुहोला तर पराजित भएमा जनतामाझ नै हुन्छु, विगतका किशोर थापा र रन्जु दर्शना जसरी हराउँदैन, अर्को पाँच वर्ष प्रतिपक्षको भूमिका खेलेर आउँछु भन्ने प्रतिबद्धता के हो ?

म २०७४ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौं १ (क)मा उम्मेदवार भई राजनीतिमा प्रवेश गरेको हो । एक महिनामको तयारीमा २७ प्रतिशत मत प्राप्त गरेको थिए । त्यो मत प्राप्त गरिसकेपछि मलाई राजनीतिबाट हराउने छुट थियो तर पाँच वर्ष हामी यो राजनीतिक फोहोर सफा गर्न लागिराखेका छौं । त्यसले पनि के देखाउँछ भने हिजो सम्मानजनक मत प्राप्त भयो र त्यसले ऊर्जा थपिदियो ।

मेरो विश्वास महानगरको नेतृत्व गर्ने हो । मेयरको कुर्सीमा बसेर पाँच वर्ष कामै गर्छु भन्ने हो । कथंकदाचित केही भएछ भनेदेखि राजधानीको फोहोर र राजनीतिको फोहोर सफा गर्न बलियो, प्रतिस्पर्धी प्रतिपक्षको भूमिकामा राजनीतिमै हुनेछु । यहाँभन्दा बाहिर हुने छैन । हामी त्यतिन्जेलसम्म लड्न तयार छौं जबसम्म नागरिकले आफ्नो मन र मत परिवर्तन गर्नुहुन्न ।

प्रकाशित : वैशाख २३, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?