कनकाईमा उम्मेदवारका एजेण्डा : कर घटाउने, सुकुम्बासीलाई धनीपूर्जा दिने

वैशाख २३, २०७९

अर्जुन राजवंशी

बिर्तामोड — झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले सुकुम्बासी, कर र बेरोजगार समस्यालाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । 

तीन दशक लामो सुकुम्बासी समस्यालाई समाधान गर्ने, करको दर आधा घटाउने तथा नगरभित्र लघु उद्यम सञ्चालन गरेर भए पनि रोजगारी सिर्जना गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

उनीहरुले आफू निर्वाचित भएको खण्डमा कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने दाबीसमेत प्रस्तुत गरे । नगरमा ठूलो संख्यामा शिक्षित युवा बेरोजगार रहेको तथा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकाले उक्त समस्या नगरभित्रै रोजगारी सिर्जना गरेर समाधान गर्ने उनीहरुको भनाइ छ । संवाद समूह झापा र कनकाई सुरुंगा प्रेस क्लबको संयुक्त आयोजनामा बिहीबार सुरुंगामा सम्पन्न कार्यक्रममा राजनीतिक दल तथा स्वतन्त्रबाट मेयर तथा उपमेयर पदका उम्मेदवार सहभागी थिए ।

एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले आफू निर्वाचित भए पहिलो काम नै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताए । दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका पोखरेलले नगरभित्रका सुकुम्बासीको जमिन नापी गर्नेदेखि फिल्डमा गर्नुपर्ने सबै काम सम्पन्न गरिसकेको जानकारी दिँदै धनीपूर्जा पनि आफ्नै हातबाट वितरण गर्नका लागि पुनः उम्मेदवार बनेको बताए ।

‘नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै काम सकेर फाइल तयारी अवस्थामा छ । भूमि आयोगको केही प्रावधानका कारण पूर्जा वितरण गर्न सकेनौं । त्यो काम पनि पूरा गर्न फेरि उम्मेदवार बनेको छु । निर्वाचित भएर गएको केही महिनाभित्रै गर्छु,’ उनले भने, ‘दोस्रो कार्यकालका लागि मेरो उम्मेदवारी भनेकै अधुरा कामहरु पूरा गर्नका लागि हो ।’ 

मेयर पदका कांग्रेस उम्मेदवार रुद्रप्रसाद चिमरियाले सुकुम्बासी समस्या धनीपूर्जा वितरणपछि मात्र समाधान हुने भएकाले आफ्नो पहिलो प्राथमिकता नै त्यही भएको बताए ।

उनले विगतमा पनि गरिब तथा विपन्न परिवारकै लागि काम गर्दै आएकाले नगरभित्रको सुकुम्बासी समस्यालाई राम्रोसँग बुझेर नै चुनावको मुख्य एजेण्डामा समावेश गरेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले भने कर र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन् । मेयर पदका उम्मेदवार श्यामसुन्दर ओलीले नगरवासी अत्यधिक करको मारमा परेको भन्दै आफू निर्वाचित भए करको दर आधा घटाउने बताए । उनले व्यवसायिक घरबाट मात्र कर संकलन गर्ने नीति ल्याउने बताए ।

‘आम्दानी हुने घरधनीले मात्र कर तिर्ने नीति ल्याउँछु । आम्दानी नै नभएको घरधनीले कर तिर्नु पर्दैन,’ उनले भने, ‘नगर विकासका लागि कर चाहिन्छ । तर, जनताले जमिन बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्छु । कर प्रणालीलाई वैज्ञानिक बनाउँछु ।’

विवेकशील साझा पार्टीका उम्मेदवारले भने शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने एजेण्डा अघि सारेका छन् । कनकाई नगरपालिकालाई देशमै नमूना नगरपालिका बनाउन निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने योजना आफूहरुसँग भएको मेयर पदका उम्मेदवार भीमप्रसाद अधिकारीले दाबी गरे । उनले ३० वर्षदेखि ‘क्रोनिक’ समस्याको रुपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने योजना पनि आफूहरुको मुख्य एजेण्डामा रहेको बताए ।

मौलिक जरोकिलो पार्टीबाट मेयर पदकी उम्मेदवार टंका उप्रेतीले कनकाईमा यहाँको मौलिकतासँग मिल्ने शासन व्यवस्था लागू गर्ने बताइन् । उनले कनकाईलाई कृषिमा आत्मनिर्भर बनाउने योजना ल्याउने बताइन् । नदी तटबन्धन गर्ने तथा साना उद्यम चलाएर युवालाई नगरभित्रै रोजगारको व्यवस्था गर्ने योजना आफूहरुसँग भएको उनको भनाइ थियो । 

स्वतन्त्रबाट मेयर पदका उम्मेदवार शेरबहादुर थापाले कनकाईलाई पूर्वकै प्रमुख पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताएका थिए । उनले आफू निर्वाचित भए नगरबाट गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्ने बताए । थापाले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै शिक्षा र स्वास्थ्यमा जनतामुखी कार्यक्रमहरु आफूहरूले एजेण्डाको रुपमा अघि सारेको बताए । 

मेयर पदका अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले भने आफू भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर उम्मेदवार बनेको बताएका छन् । उनले कनकाईका युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजना आफूहरूसँग रहेको बताए । यस्तै उनले विकासको नाममा भौतिक पूर्वाधार निर्माण मात्र नभई मानव विकासको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । 

स्थानीय तह निर्वाचन २०७९

अर्जुन

Link copied successfully