स्थानीय तह निर्वाचन

पुरानै उम्मेदवार आमने–सामने

अधुरा काम पूरा गर्ने निवर्तमान जनप्रतिनिधिको वाचा, बजेट खर्च र विकास ठीक ढंगले नभएको पराजित भएकाको आरोप

बारा/सर्लाही — अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवार यसपालि पनि दोहोरिएका छन् । बाराका १६ पालिकामध्ये जितपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा बाहेक अन्यत्र पुरानै उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

पुरानै उम्मेदवार आमने–सामने

जीतपुरसिमराका प्रमुख कृष्ण पौडेल र परवानीपुरका अध्यक्ष हरिनारायण साह भने यसपालि प्रतिस्पर्धामा छैनन् । उनीहरूबाहेक अघिल्लो निर्वाचनमा जितेका, दोस्रो र तेस्रो भएकाहरू यो पटक पनि प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका उम्मेदवार छन् ।

गत निर्वाचनमा पराजित भएकाहरू पालिकामा बजेट खर्च र विकास ठीक ढंगले नभएको भन्दै विकासका नयाँ खाकासँगै प्रचारप्रसारमा छन् । निवर्तमान जनप्रतिनिधिले अधुरा योजना पूरा गर्ने वाचालाई चुनावी मुद्दा बनाएका छन् । जिल्लाका १६ वटै पालिकामा सत्ता गठबन्धन, विपक्षी र अन्य दलका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा छ । अघिल्लो चुनावमा मधेसवादी दलबीच तामेल भएको थियो भने यसपालि भने छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । फेटा र आदर्शकोतवालमा गत चुनावमा तत्कालीन राजपाबाट जितेकाहरू एमाले प्रवेश गरी टिकट पाएर फेरि अध्यक्षको प्रतिस्पर्धामा छन् ।

तीन स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनबीच तालमेल छ भने अरू १३ मा दलहरू एकल प्रतिस्पर्धामा छन् । गठबन्धनले जित हात पार्न कार्यकर्ता र मतदाता सम्हाल्नमा समय खर्चिइरहेका छन् भने एकल प्रतिस्पर्धामा उत्रेको एमालेले गठबन्धनबाट मत तान्ने रणनीति अपनाएको छ । जिल्लामा कडा प्रतिस्पर्धाले कसको पल्ला भारी भन्ने यकिन गर्न मुस्किल छ । मतदाताहरू यसपालिको मत विगतमा भए/गरेका विकासलाई आधार बनाएर परिवर्तन ल्याउने तर्फ केन्द्रित भई मतदान गर्ने मनसायमा देखिएका छन् ।

जितपुरसिमरा र कलैया उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार र विपक्षी दल एमालेको चर्को प्रतिस्पर्धा छ । कलैयामा गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापतिसमेत रहेका राजेश राय यादव प्रमुखको प्रतिस्पर्धामा फेरि उत्रेका छन् । उपप्रमुखमा जसपाका तर्फबाट प्रमोद गुप्ता प्रतिस्पर्धामा छन् । एमालेका तर्फबाट गत स्थानीय चुनावमा १ सय ८४ मतले पराजित विनोद साह फेरि प्रमुखमा प्रतिस्पर्धी बनेका छन् भने उपप्रमुखमा रौशन प्रबिन उम्मेदवार छिन् ।

जितपुरसिमरामा गठबन्धनका तर्फबाट माओवादीबाट राजन पौडेल प्रमुखका लागि चुनावी दौडमा छन् । गत स्थानीय चुनावमा तेस्रो स्थानमा रहेका उनीसहित उपप्रमुखमा कांग्रेसका तर्फबाट नयाँ अनुहार नेविसंघकी नेतृ मेघा शाही प्रतिस्पर्धामा छिन् । यसैगरी निजगढ नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन हुँदै प्रमुखमा निवर्तमान प्रमुख सुरेश खनाल र उपप्रमुखमा माओवादीका तर्फबाट रविराज दंगाल प्रतिस्पर्धामा उत्रेका छन् । गत स्थानीय चुनावमा पनि यी दुवै दलबीच तालमेल थियो । तर माओवादीलाई तालमेल फापेको थिएन । कांग्रेसका तर्फबाट खनालले प्रमुखमा जिते भने उपप्रमुखमा एमालेको लीला लामिछानेले जितेकी थिइन् ।

निर्वाचन आचारसंहिता उल्लंघन

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा आचारसंहिताका घटनाहरू बढ्न थालेका छन् । चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग बढ्दो छ । आचारसंहिता उल्लंघनका घटना बढे पनि नियमनकारी निकाय भने मौन छ । दलका उम्मेदवारले सार्वजनिकस्थलमा पोस्टर टाँस्नेदेखि झन्डा बोक्नेसम्मको काममा बालबालिकालाई प्रयोग गर्दै आएका हुन् । चोक तथा हाटबजारमा उम्मेदवारले पार्टीका झन्डा र ठुल्ठूला पोस्टर झुन्ड्याएका छन् । सदरमुकाम मलंगवासहित प्रमुख बजारहरू हरिवन, लालबन्दी, बरहथवा, ईश्वरपुरलगायतका क्षेत्रहरूमा चुनावी झन्डा तथा पोस्टरहरू झुन्ड्याइएको छ । हरिवनका स्थानीय चूडामणि वाग्लेले जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको निर्वाचन अधिकृतको कार्यालयसहित जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो पोखे । ‘जिल्लामा आचारसंहिता उल्लंघन भइरहेका छन्, तर पनि सम्बन्धित निकाय मौन छन्,’ उनले भने, ‘आचारसंहिता उल्लंघनले बजार कुरूप देखिनुको साथै अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ ।’

जिल्लाका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटका गाडीको समेत प्रयोग गरिरहेका छन् । जिल्लामा ठूला तथा साना सबै पार्टीका उम्मेदवार तथा तिनका समर्थक तथा कार्यकर्ताहरूले चुनावी अभियानमा भारतीय गाडीको प्रयोग गर्न थालेका हुन् । कतिपय उम्मेदवारले लोगोसहितको टिसर्ट कार्यकर्तालाई बाँडिरहेका छन् भने कतिपयले दलित बस्तीमा पुगेर कपडा बाँडिरहेका छन् ।

जिल्लामा खुलेआम आचारसंहिता उल्लंघन भए पनि लिखित उजुरी कतै पनि परेको छैन । आचारसंहिता उल्लंघन भएको वा नभएको अनुगमन गर्ने जिम्मा पालिकामा स्थापना भएको निर्वाचन कार्यालयको छ । जिल्लाको २० वटै पालिकामा सहायक निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन टोली रहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले बताए । उनले सहायक निर्वाचन अधिकृत आचारसंहिता अनुगमन अधिकृतसमेत रहेको जानकारी दिए । उनले कार्यालयमा लिखित उजुरी परेमा मात्र टोलीले छानबिन गरी उम्मेदवारी रद्दसम्मको कारबाही हुने बताए । ‘अहिलेसम्म कुनै पनि पालिकामा आचारसंहिता उल्लंघन भएकोबारेमा उजुरी परेको छैन, उजुरी परेमा पालिकामा रहेका सहायक निर्वाचन अधिकृतले छानबिन गर्नेछन्,’ उनले भने । जिल्ला निर्वाचन कार्यालयले भने आचारसंहिता उल्लंघनका बारेमा सर्वपक्षीय बैठक बुधबार बस्न लागेको जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले आचारसंहिता उल्लंघनका बारेमा दलहरूसँग छलफल गरिने जानकारी दिए ।

प्रकाशित : वैशाख २१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?