३ सय युनिट बिजुलीदेखि प्रत्येक वडामा स्वास्थ्यचौकीसम्म
मकवानपुर — हेटौंडा उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । गठबन्धन दलहरूले निर्वाचनमा जितेको खण्डमा गर्ने कामहरूको सूची सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्रमा उपमहानगरवासीलाई तीन सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने मेयरकी उम्मेदवार मीना लामाले घोषणा गरिन् ।
उनले एक घर एक रोजगारीलाई प्राथमिकतामा राख्नुका साथै निम्न मध्यम व्यवसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।
नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने पनि घोषणा गरिएको छ । साथै हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् ।
