बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजनासहित नेकपा एकीकृत समाजवादीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।
समाजवादीले फजुल खर्च कटौती गरी नगरपालिकाले लिँदै आएको कुनै पनि कर मिनाहा गरिदिने जनाएको हो । प्रतिबद्धता पत्रमा पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने उल्लेख छ ।
नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिँदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने र आफ्नै निजी साधन प्रयोग गर्ने एकीकृत समाजवादीको प्रतिबद्धता छ ।
प्रतिबद्धतापत्रमा समाजवादीले हालको नगरपालिका भवनमा मेडिकल कलेज संचालन गर्ने पनि जनाएको छ । सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको वाहनामा शुल्क लिन नपाउने र संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै तिलोत्तमा १३ र १४ मा इञ्जिनियरिङ कलेजले १० र ११ मा कृषि क्याम्पस सञ्चालन गर्ने बताएको छ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको बनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने समाजवादीले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ।
नागरिकहरुलाई सिटी कार्ड बनाउने र नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाएको छ । तिलोत्तमा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेदवार बनाएको छ ।
