संगठित बन्दै सिद्धिचरणका बागी उम्मेदवारहरू

साझा कार्यालय सञ्चालन गरी संयुक्त रुपमा प्रचार गर्दैछन्

वैशाख १८, २०७९

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिकामा विभिन्न दलबाट बागी उम्मेदवार बनेकाहरु संगठित रुपमा प्रतिस्पर्धाको तयारी गरेका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारहरूको साझा सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । एमालेबाट विद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सीताराम गुरुङको नेतृत्वमा संगठित बनेका हुन् ।

स्वतन्त्रहरुको समूहमा वडाअध्यक्षको उम्मेदवारी दिएकाहरु वडा नं. १ का महेन्द्र श्रेष्ठ, वडा नं. ३ का शिव बानियाँ, वडा नं. ४ कल्याण राई र वडा नं. ५ का थगेन्द्रराज राई लगायत छन् । वडा सदस्यहरुसहित करिब दर्जनको संख्यामा स्वतन्त्र उम्मेदवारहरू रहेको मेयरका उम्मेदवार सीताराम गुरुङले बताए ।

उनीहरु सबैको चुनाव चिह्न धारा परेको छ । सोही कारण चुनावी प्रचारसमेत मिलेर गर्ने उनीहरूले बताएका छन् । आइतबार सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा उनीहरूले यसबारे जानकारी दिएका छन् ।

‘वास्तवमा पार्टीहरू अब दलाल, पुँजीवादी, व्यापारी र सिन्डिकेट चलाउनेको हातमा गइसक्यो,’ गुरुङले भने, ‘त्यसैको विरुद्ध हामी सबै दलबाट विद्रोह गर्नेहरुको समूह यो बनेको छ ।’

उनीहरुले स्वतन्त्र उम्मेदवार बनेर कसैलाई चुनावमा हराउन वा भोट काट्नका लागि उम्मेदवारी नदिएको पनि बताए । चुनाव जितेर उनीहरूले पार्टीका उम्मेदवारभन्दा राम्रो काम गर्ने प्रतिबद्धतासमेत गरेका छन्।

स्थानीय तह निर्वाचन २०७९

कुम्भराज

Link copied successfully