‘सिँजा सभ्यताको पहिचान विश्वसामु पुर्याउने प्रतिबद्धता’
जुम्ला — जुम्लाको सिँजा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्दै सि“जा संग्राहलय स्थापनादेखि रोजगारीको सुनिश्चिततासम्मलाई जोड दिएका छन् ।
माओवादीले सिँजा सभ्यतालाई संरक्षण गर्नका विश्व सम्पदा सूचीमा लिखित दस्ताबेज प्रस्तुत गर्नेसमेत उल्लेख गरेको छ ।
गाउँपालिका अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले सिँजा सभ्यताको पहिचान दिलाउन र सभ्यताभित्र भएका हरेक क्रियाकलापको संरक्षण गर्न योजना बनाउने प्रतिबद्धता जाहेर गरेका हुन । उनले घोषणापत्र सार्वजनिक गर्दै भने, ‘सिँजा आफैमा एक शक्तिशाली राज्य हो । तर पछिल्लो समयमा केन्द्रिकृत सत्ताका कारण सधैं ओझेलमा परिरह्यो । अब स्थानीय सरकारले सिँजाको पहिचान दिने खालका नीति कार्यक्रम तर्जुमा गर्नेछ । जसका कारण नेकपा माओवादीको उम्मेदवारी हो । ’
माओवादीले प्रत्येक वडा कार्यालयका केन्द्रहरूमा १० घर नयाँ सहरको स्थापना गर्ने बताएको छ । उपभोक्ता समितिको मनपरीका कारण अनियमितता मौलाएकोले अब श्रम संगठन बनाउने गरी घोषणा पत्र बनाएको छ ।
श्रमिकका खातामा पारिश्रमिक पठाउने व्यवस्था गर्ने, युवालाई रोजगारीमा प्रथामिकता दिने, नतिजाको आधारमा शिक्षक प्रोत्साहन तथा पुरस्कृत कार्यक्रम ल्याउने, भ्रमणको व्यवस्था गर्ने माओवादीको घोषणापत्रमा उल्लेख छ ।
सबै विद्यालयमा इन्टरनेट जडान, पक्की तथा बालमैत्री विद्यालय भवन निर्माणदेखि आधारभूत व्यवस्थापनमा जोड दिइने अध्यक्षका उम्मेदवार धितालले जानकारी दिए । सिँजाका अति विपन्न नागरिकका लागि आवासको व्यवस्था गर्ने,सिञ्जा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रूपमा विकास गर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।
कृषिमा ‘एक गाउँ एक कृषि’ उत्पादन र सहकारी उत्पादन तथा रैथाने कृषि वस्तुको बजारीकरणमा जोड दिने घोषणापत्रमा समेटिएको धितालले जानकारी दिए । त्यस्तै हरेक घरको एक जनालाई रोजगारमा जोड्ने नीति अबलम्बन गर्ने माओवादीले जनाएको छ ।
सिँजा गाउँपालिकाको निर्माणाधीन भवनको निर्माण कार्य सकाउने,नाग्म–गमगढी राजमार्गदेखि पालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने, भेडापालन व्यवसायलाई प्रवर्द्धन गरी ऊन र राडीपाखी उत्पादनमा जोड दिने,जल, जमिन र जडिबुटीबाट प्राप्त लाभलाई राजस्वको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ ।
माओवादीले केन्द्रबाट अपिल जारी गर्दै हरेक स्थानीय तहलाई आफ्नो अनुकूलको घोषणापत्र बनाउन निर्देशन गरेको थियो ।
