बढ्न सक्छ बदर मत, छैन मतदाता शिक्षा

वैशाख १५, २०७९

भवानी भट्ट

कञ्चनपुर — हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य हुन्छ । निर्वाचन आयोगले पनि विगतका निर्वाचनलाई यसलाई निकै महत्त्व दिएको देखिन्थ्यो । तर पनि बदर मत घटाउन सकिएको थिएन । यस पटक मतदाता शिक्षाको कार्यक्रम नहुँदा बदर मत अझै बढन सक्ने अनुमान गरिएको छ । 

०७४ को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा ९ वटै पालिकामा ५ हजार ५९ बदर मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जुन कुल खसेको मतको ३ दशमलव ६५ प्रतिशत हो । त्यतिबेला जिल्लामा २ लाख ३५ हजारमध्ये ७२ दशमलव ९० प्रतिशत मत मात्रै खसेको थियो । 

यस पटक मतदाता संख्या बढेको छ । जिल्लाका सबै पालिकामा मतदाता संख्या २ लाख ९५ हजार ३५४ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा पुरुष १ लाख ५२ हजार ११२ र महिला १ लाख ४३ हजार २४१ तथा तेस्रो लिंगी १ जना छन् । 

विगतमा निर्वाचनमा स्वास्थ्य स्वयंसेविका र वालविकासका सहजकर्ताहरुलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरु नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउँथे । तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन । 

‘यसपटक एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, बजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले भने, ‘केन्द्रको स्वयंसेविकाले पनि मतदाता शिक्षा दिने भन्ने छ ।’ उनका अनुसार कार्यक्रम र बजेट नआएका कारण विगतजस्तो मतदाता शिक्षा दिन नसकिएको हो । 

विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरुमा बढी मत बदर भएका छन् । निर्वाचन कार्यालयका अनुसार लालझाडी र दोधारा चाँदनी नगरपालिकामा ४ प्रतिशतभन्दा बढी मत बदर भएका छन् । लालझाडीमा ८ हजार ९५६ मत खसेकोमा ४२४ मत बदर भएको थियो । यसैगरी दोधारा चाँदनीमा पनि खसेको १३ हजार ८८३ मत मध्ये ५६९ मत बदर भएको थियो । 

स्थानीय तहको निर्वाचनमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा बदर मतको प्रतिशत अझ बढी छ । यस पटक मतदाता शिक्षाको अभावसँगै राजनीतिक दलहरुबीचको गठबन्धनले समेत बदर मत बढन सक्ने अवस्था छ । 

‘बदर मत घटाउन हामीले सक्दो प्रयास गर्नेछौं, तर यस पटक मतदाता शिक्षाको अभावको कारण बढन सक्छ,’ जिल्ला निर्वाचन अधिकृत जोशीले भने, ‘स्रोत साधनको अभावमा कम खर्चमा बदर मत घटाउन हाम्रो प्रयास रहनेछ ।’ 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully