सुरक्षित सहरदेखि सेवा र सुशासनसम्म

'काठमाडौंलाई झिलिमिली पार्नेछु'

वैशाख १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी मेयरकी कांग्रेस प्रत्याशी सिर्जना सिंहले सात  'स' को संकल्प सार्वजनिक गरेकी छिन् । बिहीबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा महानगरको सेवा र सुशासनदेखि संस्कृति, सम्पदा र सभ्यतालाई उनले आफ्ना संकल्पका रूपमा प्रस्तुत गरेकी छिन् ।

महानगरलाई विधिको शासन, नियम कानुनभित्र रही चलाउने सिंहले स‌ंकल्प गरेकी छिन् । त्यस्तै भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने पालिकाका रूपमा काठमाडौंलाई स्थापित  गर्ने उनको वाचा छ । त्यस्तै उनले काठमाडौंलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्ण रूपमा सुरक्षित बनाउने पनि उनको संकल्प छ । 

त्यस्तै सबल र समून्नत पूर्वाधारअन्तर्गत उनले सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्रीमैत्री सहरका रूपमा महानगरलाई विकास गर्ने उनको प्रतिबद्धता छ ।

त्यस्तै काठमाडौंको फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने सिंहले बताइन् । उनले भनिन्, 'काठमाडौंको फोहोर घरबाटै व्यवस्थापन गर्ने गरी जिरो वेस्टको नीति ल्याउनेछु ।' त्यस्तै सहरका विपन्न वर्गमा महिलालाई विशेष राहत प्याकेज ल्याउने उनले वाचा गरेकी छिन् । त्यस्तै काठमाडौं महानगरलाई झिलिमिली पार्ने र सार्वजनिक ठाउँमा सीसीटीभी जडान गरिने उनले बताइन् ।

 

कान्तिपुर

Link copied successfully