खाँणलाई पौडेलको जवाफ- सरकार र गठबन्धनको संकटसँग मेरो उम्मेदवारी नजोड्नुहोस्

वैशाख १५, २०७९

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेल र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहीबार बिहान भेट भएको छ । पौडेललाई उम्मेदवारी फिर्ता गराउन खाँण प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको दूत भनेर बुधबार चितवन आएका थिए ।

बिहीबार बिहान पौडेलको घर कृष्णपुर पुगेर खाँणले उनीसँग वार्ता गरे । 'विशेष अवस्थामा गठबन्धन भएको छ । यसलाई अगाडि बढाउन आवश्यक छ । पौडेलजी पार्टीको प्रतिबद्ध कार्यकर्ता हो । पार्टीको निर्णयलाई मान्नु हुन्छ भन्ने मलाई विश्वास छ,' भेटघाटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँणले भने ।

मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको तर आफू फिर्ता नहुने ठाउँमा पुगेको जवाफ दिएको पत्रकारहरूसँगको कुराकानीमा पौडेलले बताए । 'यो मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन । चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यको कुरा हो भने । मेरो कारणले केन्द्रीय गठबन्धन र सरकारलाई असर पर्ने म देख्दिनँ । परिस्थिति धेरै अगाडि बढ्यो भन्ने कुरा राखेँ,' मन्त्री खाँणसँग भएको कुराकानीबारे पौडेलले जानकारी दिए ।

पौडेलले चितवन र लोकतन्त्रवादीले पार्टी बचाउन आफूले अभियान सुरु गरेको बताए । 'अनुशासनको सीमा नाघेको लाग्छ भने पनि त्यसका लागि पार्टीले निर्णय लिएमा मेरो गुनासो र आपत्ति छैन भनेको छु,' पौडेलले भने 

गृहमन्त्री खाँण फेरि छलफल गर्ने भनेर बिदा भएको पौडेलले बताए । अबको भेटमा पार्टीका पुराना नेता तथा पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ पनि सँगै बस्ने पौडेलले बताए । मन्त्री खाँणले पौडेललाई भेट्नुअघि कृष्णलाल सापकोटा र भीमबहादुर श्रेष्ठसँग सापकोटाको घर नारायणगढ बेलचोकमा भेटघाट गरेका थिए ।

भरतपुरमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा मेयर पद आफ्नो पार्टीले पाउनु पर्ने चितवन कांग्रेसको माग थियो । तर केन्द्रीय गठबन्धनमा निर्णय हुँदा भरतपुरको मेयर पद माओवादी केन्द्रले पाएको छ । जसका कारण चितवन कांग्रेसमा असन्तुष्टि बढेको छ । जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएपछि फिर्ता गराउन देउवादेखि दाहालसम्म लागेका छन् ।

मेयर पदकी उम्मेदवार रेनु दाहाल अघिल्लो चुनावमा पनि कांग्रेससँग तामेल गरेर मेयरमा विजयी भएकी थिइन् । भरतपुर महानगरपालिका पुष्पकमल दाहाल प्रतिनिधिसभामा विजयी भएको क्षेत्र चितवन-३ मा पर्दछ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully