पुरुषभन्दा महिला पछि किन पर्ने ?

'पुरुषभन्दा महिला पछि किन पर्ने भनेर उम्मेदवारी दाबी गरेँ, योगदानको कदर गर्दै पार्टीले अवसर दिएको छ, नमुना सुनकोसी बनाउने अठोटकासाथ मतदाताबीच एजेन्डा लिएर पुगिरहेको छु ।'

वैशाख १३, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लामा दलहरुले सोमबार आ–आफ्ना उम्मेदवारी दर्ता गरे । सुरुदेखि महिलालाई उपमेयर, वडासदस्य पदबाहेक अन्य पदमा उम्मेदवार नबनाएको भन्दै कांग्रेसबीच धेरै उथलपुथल मच्चियो ।

महिलासहित मेयर/अध्यक्षमा नाम सिफारिस गरेकाे नेकपा एमालेले एक गाउँपालिबाहेक अन्तिममा सबै पुराना अनुहार उभ्याए । दाबेदारीपछि माओवादी केन्द्रले सुनकोसी गाउँपालिकाको प्रमुख पदको उम्मेदवार कृष्णकुमारी कुवँरलाई उभ्यायो ।

फलस्वरूप उनी जिल्लामै दलको तर्फबाट चुनाव लड्ने अध्यक्ष पदकी एक्ली उम्मेदवार बनेकी छन् । जनयुद्धमा लामो समय होमिएकी पूर्वलडाकु कुँवर सामाजिक सेवा, राजनीतिमा सक्रिय थिइन् ।

'पुरुषभन्दा महिला पछि किन पर्ने भनेर उम्मेदवारी दाबी गरेँ, योगदानको कदर गर्दै पार्टीले अवसर दिएको छ, नमुना सुनकोसी बनाउने अठोटकासाथ मतदाताबीच एजेन्डा लिएर पुगिरहेको छु,' कुवँरले भनिन् । माओवादी केन्द्रबाट कुवँरसहित उपाध्यक्ष दुर्गा थापा, वडाअध्यक्ष वडा न.१ मा श्री कृष्ण खत्री, २ मा रामशरण बुढाथोकी, ३ मा सुनेश थापामगर, ४ ज्ञान बहादुर रुम्बा, ६ मा मिमबहादुर याेन्जन र ७ मा भाइराम दाहाल उम्मेदवार छन् ।

अहिले व्यवसाय गर्दै जीविकोपार्जन गरिरहेकी कुँवरले आफू विजयी भए सुनकोसीलाई समृद्ध र उत्कृष्ट बनाउने कार्ययोजना बनाएको उल्लेख गरिन् ।दलबाहिर अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङकी सगरमाथा आरोही माया गुरुङ छन् ।

यसअघि माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरको मेयरमा जानुका पराजुली र एमालेले बाह्रबिसे नगरको मेयरमा कल्याणी घिसिङलाई सिफारिस गरेको थियो । एमालेले अन्य स्थानीय तहमा धेरै महिलाको नाम माथिल्लो तहमा सिफारिस गरेको थियोे । तर पछि बलियो उम्मेदवार बनाउने होडमा पछाडि हटाइएको देखिएको जानकारहरू बताउँछन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully