बुटवल — १६ स्थानीय तह रहेको रुपन्देहीमा दुई स्थानीय तहमा महिलाको उम्मेदवारी परेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र तिलोत्तमा नगरपालिकामा प्रमुख दलहरुले नै महिलाको उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनीमा समाजसेवामा क्रियाशिल रमावती यादवले एमालेकातर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी छन् । लुम्बिनीको समग्र विकास, सुशाशन र कुरीति अन्त्यका एजेन्डा लिएर नागरिकका मत तान्ने उनले बताइन् । ‘बुद्धजन्मस्थल लुम्बिनी भएर पनि यहाँ भौतिक रुपमा धेरै विकास गर्न र सामाजिक परिवर्तनमा काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘म यी कामको अगुवाइ गर्नेछु ।’ मधेसी समुदाय भएको ठाउँमा महिला प्रमुख पदमा उठ्नु र काम गर्नु चुनौतीपूर्ण भएपनि युवा र पुरुषलाई पनि साथमा लिएर अगाडि बढेको उनले बताइन् । उनी र उनको परिवार केही समयअघिसम्म कांग्रेसमा क्रियाशील थियो ।
तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । पार्टीबाट आशाकुमारी चौधरीले प्रमुखमा मनोनयन दर्ता गराएकी हुन् । रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य हुन् । ४३ वर्षीय चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष पनि हुन् । तिलोत्तमा १३ मडहरा घर भएकी उनी व्यवसायिक रुपमा फेन्सी पसल सञ्चालन गरेकी छन् ।
आफूसँग भौतिक विकासँगै सामाजिक विकासका थुप्रै एजेन्डा भएकाले तीनै एजेन्डा लिएर मतदातामाझ जाने र भोट माग्ने उनले बताइन् । तिलोत्तमामा सुरु राम्रा योजना पूरा गर्ने र भौगोलिक रुपले समानुपातिक विकास गर्ने उनले बताइन् । ‘माग र आवश्यकताका आधारमा युवाहरुलाई सीप र क्षमता विकास तालिम दिने र बीउ पुँजी दिएर स्वदेशमै स्वरोजगार बनाउने अभियान चलाउने छु,’ उनले भनिन् ।
