बागलुङका सबै नगरमा पुरानै अनुहार

वैशाख १३, २०७९

प्रकाश बराल

बागलुङ — बागलुङका सबै नगरपालिकामा पुरानै उमेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । गत निर्वाचनका अधिकांश विजयी र पराजितहरुबीच नै चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

बागलुङ नगरपालिकामा एमालेबाट प्रमुख जनकराज पौडेल र कांग्रेसका बसन्तकुमार श्रेष्ठ, गलकोटमा कांग्रेसका भरत शर्मा गैरे, ढोरपाटन नगरपालिकामा एमालेका देवकुमार नेपाली र माओवादीका चन्द्र अर्याल तथा जैमिनीमा राजमोका नरबहादुर थापा र एमालेका लीला राना प्रमुखमा उमेदवार छन् । 

पुरानै उमेदवार भएकोले कार्यकर्ता तहमा उर्जा नै नभएको अधिकांशले बताए । छिटफुट रुपमा आएका नयाँ उमेदवारले बढी चर्चा पाएका छन् । बडिगाड गाउँपालिकामा पनि गठबन्धनबाट कांग्रेसकी गण्डकी थापा र एमालेका राजन पाइजा उमेदवार छन् । तमानखोलामा गठबन्धनबाट कांग्रेसका जोकलाल उमेदवार भए । 

बरेङमा गठबन्धनको तर्फबाट राजमोका कृष्णप्रसाद पौडेल उमेदवार छन् । अधिकांस उमेदवार पुरानै भएकोले उनीहरुको पक्षमा परिवारका सदस्यले मात्रै सामाजिक सञ्जाल रंगाएका छन् । कार्यकर्ताले भने नयाँ देखिएका उमेदवारको पोष्ट गरेका हुन् । ‘जनताले पुरानै अनुहार चाहेको छैन, नयाँ र केही गर्न सक्ने खोजेको छ,’ राजनीतिज्ञ दिपेन्द्रबहादुर थापाले भने, ‘राजनीति भनेको काम गर्नका लागि हो, पैसाले किच्न थालेपछि सक्षमहरु पाखा लाग्नुपर्ने बाध्यता छ ।’

यहाँको काठेखोलामा मात्र नयाँ उमेदवार छन् । काठेखोलामा गठबन्धनबाट कांग्रेसका राजु थापा र एमालेका डिलबहादुर कार्की अध्यक्षका उमेदवार छन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully