म्याग्दी — नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका प्रमुख/उपप्रमुखमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका छन् ।
एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेका थिए । पालिका प्रमुखमा दाबी गरेका थापाले पार्टी निर्णयमा असन्तुष्ट भइ ‘क्षमता’ देखाउने भन्दै राप्रपाबाट प्रमुख पदमा मनोनयन दर्ता गरेका थिए ।
धवलागिरी गाउँपालिकाको प्रमुख, उपप्रमुख पदमा पार्टीको टिकट वितरणमा चर्को असहमति भएको जानकारी विवाद सुल्झाउन बेनीबाट एमाले केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष समेतको टोली धवलागिरी पुग्दा थापाले राप्रपाबाट मनोनयन दर्ता गरी फर्केका थिए । थापाले एमाले टोलीसँग भेट्न समेत मानेनन् ।
‘पालिकामा टिकट वितरणमा केही असन्तुष्टि देखियो । समस्या सुल्झाउन हामी पुग्दा असन्तुष्ट रहनु भएको होमबहादुर थापाजी आफ्नो मनोनयन दर्ता गरी फर्कनु भएको थियो । हाम्रो भेट र कुनाकानी हुन पाएन,’ एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले भने, ‘उहाँले आवेगमा लिएको निर्णय फिर्ता गर्नु हुन्छ भन्ने विश्वास लिएका छौं ।’
आमाको चुनाव चिह्न रुख, छोरा हँसिया हथौडा
बेनी नगरपालिकामा आमा छोराले भिन्दाभिन्दै चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गरेका छन् ।
बेनी नगरपालिकाको उपमेयरमा कांग्रेसको रुख चुनाव चिह्नबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ भने सोही पालिका, ६ नम्बर वडा सदस्यमा माओवादी केन्द्रको चुनाव चिह्नबाट सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
नगरप्रमुख, उपप्रमुख समेत वडाध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएका कांग्रेस र माओवादी केन्द्रले ५ र ६ नम्बर वडामा भने एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिनेगरी गठबन्धन गरेका छन् । बेनी नगरपालिका, ५ मा माओवादीका उम्मेदवार रुख चिन्हबाट र ६ मा काँग्रेसका उम्मेदवार गोलाकार हसियाहथौडा चुनाव चिह्नबाट उम्मेदवार बनेका हुन् ।
७८ वर्षीया वडासदस्यमा उम्मेदवार
यहाँकी एक ७८ वर्षीया वृद्धाले सोमबार निर्वाचन कार्यालय पुगेर वडासदस्य पदमा मनोनयन दर्ता गरेकी छन् ।
मंगला गाउँपालिका, १ की ७८ वर्षीया यामकुमारी पुनले माओवादी केन्द्रबाट वडासदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । सोही पालिकाको उपप्रमुख पदमा २४ वर्षीया भूमि घर्ती मगरले पनि उम्मेदवारी दिएकी छन् । यामकुमारी मंगलामा उम्मेदवारी दर्ता गर्ने जेष्ठ र भूमि कान्छी उम्मेदवार बनेका छन् ।
