वर्षौंदेखि पुर्जाकै आश्वासन

‘हामीलाई जहिल्यै भोट बैंकका रुपमा मात्र दुरूपयोग गरियो’

वैशाख १३, २०७९

सन्जु पौडेल

लुम्बिनी — वीरबहादुर गर्बुजा ०५३ सालदेखि बुटवल–११ स्थित तिनाउ बगरमा बसिरहेका छन् । सुरुमा बगरको ‘ए’ सेक्टरमा बसोबास गरिरहेका थिए । ०६५ सालमा बसाइँ सरेर उक्त वडाकै प्रगतिनगर आए । त्यहाँ उनीसहित पाँच जनाको परिवार बस्छ । जीविकोपार्जनका लागि आफू दैनिक ज्याला मजदुरी गर्छन् । छोरा बाहिर काम गर्छन् । पुराना बासिन्दा भएकाले वीरबहादुर बस्तीमा परिचित छन् । सामाजिक कार्यमा सक्रिय छन् । तर, बास भएर पनि केही नभएजस्तो हुनुपर्दा दुःखी छन् ।

‘घर बनाएर बसियो,’ उनले भने, ‘पुर्जा नभएको जग्गा कसरी आफ्नो मान्ने ?’

उनीसमेत यो बस्तीका धेरै जना वर्षौंदेखि पुर्जाकै आशमा छन् । धेरै निर्वाचन भए । प्रचारमा आउने नेताले पुर्जा वितरणको आश्वासन दिए । अहिलेसम्म माग पूरा भएको छैन । त्यसैले सन्तानले दुःख पाउँछन् कि भन्ने डर लागिरहने उनले बताए । गर्बुजाका अनुसार गत फागुन अन्तिममा उपमहानगरपालिकाले गठन गरेको टोल विकास संस्थाका प्रतिनिधिले बस्तीमा आएर निस्सा बाँडेर गए । ‘पालिकाले खटाएको नापी टोलीले आएर जग्गा नाप्यो,’ उनले भने, ‘त्यही आधारमा निस्सा दिएको हो ।’ 

बस्तीमा ३ हजार ६ सयभन्दा बढी मतदाता रहेकाले हरेक नेताले वर्षौंदेखि प्रलोभन देखाउने गरेको उनको आरोप छ । नगरपालिकाबाहेक भूमि आयोगका कर्मचारीले समेत पटक–पटक विवरण संकलन गरेर लैजाने गरेका छन् । ती फर्किंदैनन् । ‘कर्मचारीले यसपटक पनि चुनावपछि आएर पुर्जा वितरणको काम गर्ने आश्वासन दिएर गएका छन्,’ उनले भने । स्थानीय शान्ति सारु मगरले बिजुली पानीको सुविधा बस्तीमा भएको बताइन् । सबै सुविधा उपलब्ध भएकाले बसोबास गर्न सहज भए पनि मुख्य विषयमा कुनै सरकार गम्भीर नबनेको उनले बताइन् । प्रगतिनगर छेउमै विनपाते बस्ती छ । हाल यसलाई सत्यवती टोल विकास संस्था नाम दिइएको छ । टोलमा पढेलेखेका र शिक्षितको संख्या पनि उत्तिकै रहेको स्थानीयले बताए । दिनभरि काम गरेर जीविका चलाउनेको बाक्लो बसोबास छ । उक्त वस्तीका बासिन्दा दलबहादुर रोका ८३ वर्षका भए । २० वर्षअगाडि यही टोलमा सुकुम्वासी बनेर बसेको उनले सुनाए । ‘पछि जमिन आफ्नो बनाउन पाइन्छ भनेर सबै जना बसियो,’ उनले भने । बुढेसकाल लागेपछि घरजग्गा बैंकमा राखेर ऋण झिक्न पनि नपाइने उनले बताए ।

स्थानीय कमल भुसालले नेताको कुरा पत्याएर मत दिने आफूहरू नै खराब भएको बताए । उनले नीति निर्माण तहमा पुगेका नेता–मन्त्रीहरूले सुकुम्बासी समस्या समाधान गर्नेतिर कहिल्यै ध्यान नदिएको बताए । ‘हामीलाई जहिल्यै भोट बैंकका रूपमा मात्र दुरुपयोग गरियो,’ उनले भने, ‘अब सुकुम्बासी मतदाताको भोट दुरुपयोग नहोस् भनी टोल–टोलमा स्थानीय मिलेरै अभियान चलाउनुपर्ने बेला आएको छ ।’ खोलाको डरले समेत हैरान पारेको भन्दै उनले अहिले किनारमा जाली बाँध्ने काम भइरहेकाले यसले जोगाउँछ कि भने आश लागेको बताए । 

बुटवल उपमहानगर–११ मा बाक्लो बसोबास छ । यहाँ अव्यवस्थित बस्ती धेरै छ । चुनावमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएको वडा सदस्य मायादेवी दमाईले बताइन् । उनको घर पनि सुकुम्वासी बस्तीमै रहेकाले यो समस्या हल गर्ने हर प्रयास गरे पनि विफल भएको उनले बताइन् । 

‘लालपुर्जा दिने हरेक प्रक्रिया पूरा गर्दै थियौं,’ उनले भनिन्, ‘सरकार परिवर्तन भएपछि काम रोकियो ।’ सडक निर्माण, संरचना बनाउने काम सहजै गर्न सकिने भए पनि जमिनको नापी गरी पुर्जा वितरण गर्नु सजिलो नभएको उनको भनाइ छ । नारामा मात्र सीमित घोषणाले जनतामा निराशा जगाउने कांग्रेसका नगर सभापति खेलराज पाण्डेले बताए । ‘जनप्रतिनिधिलाई लालपुर्जा दिन सुझाव नदिएको होइन,’ उनले भने, ‘बुटवलका नागरिकको समस्या समाधान सुकुम्बासी तथा अव्यवस्थित बसोबास हो ।’ 

पालिकाभित्र दर्ता भई वडामार्फत किनबेच गर्न मिल्ने व्यवस्थाले पुर्जा नभए पनि स्थानीयलाई अलि सहजता प्रदान गर्थ्यो भन्ने लागेको उनको भनाइ छ । उपमहानगर प्रमुख शिवराज सुवेदी स्थानीय सरकारले सबै काम पूरा गरेर पुर्जा बाँड्ने अन्तिम तयारीमा रहेको बताए । घोषणापत्रमा उपमहानगरको क्षेत्राधिकारभित्र पर्ने तथ्यांक संकलन तथा विवरण उल्लेखको काम सकेर वितरण गर्ने बेलामा भूमि आयोग विघटन भएर समस्या भएको उनको भनाइ छ । ‘हाम्रो तर्फदेखि गर्नुपर्ने सबै काम सकेका छौं,’ उनले भने ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully