म काठमाडौंको माटो र संस्कृतिसँग भिजेको महिला हुँ : सिंह

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सफा, सुन्दर र सुरक्षित शहर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । राष्ट्रिय सभागृहमा पुगेर मेयर पदमा उम्मेदवारी दर्तापछि नेतृ सिंहले एउटी महिलाले घर सफा गरेजस्तै काठमाडौंलाई स्वच्छ, सफा र सुरक्षित शहर बनाउन काम गर्ने बताइन् ।

 ‘काठमाडौं नेपालको राजधानी हो, यो नेपालको मुट हो, एउटा ऐतिहासिक सहर हो,’ उनले भनिन्, ‘यसलाई अब नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा समेत थप चिनाउनुपर्नेछ । म एउटा महिला भएकाले हामी महिलाहरूले जसरी घर सफा राख्छौँ, आगामी पाँच वर्षमा काठमाडौंलाई त्यसैगरी सफा र स्वच्छ पार्ने योजनासहित अगाडि आएकी छु । म काठमाडौंको हावा, पानी, माटो र संस्कृतिसँग भिजेको महिला हुँ । मेरो सम्पूर्ण ध्यान यो शहरलाई सफा र सुरक्षित सहर बनाउनेमा केन्द्रीत हुनेछ ।’ 

उनले आफ्नो उम्मेदवारीले काठमाडौंका महिलाहरूमाझ उत्साह छाएको बताइन् । ‘म लोकतन्त्र, प्रजातन्त्रकोलागि जीवनभर संघर्ष गरेर आएको परिवारको एउटा सदस्य हुँ । म गणेशमान र मंगलादेवीको बुहारी हुँ, प्रकाशमानको श्रीमती हुँ । यो लुकाएर लुक्ने कुरा पनि छैन,’ नेतृ सिंहले भनिन्, ‘तर प्रकाशमानलाई चिन्नुभन्दा अघि नै म आफैँ पनि प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेको महिला हुँ । हिजो जसरी गणेशमान र मंगलादेवीले जनतालाई रैतीबाट नागरिक बनाउन संघर्ष गर्नुभयो, त्यो कुरालाई म सिरोपर गरेर अगाडि बढेको छु ।’

उनले आफूले प्रकाशमानको श्रीमती भएर बस्दा समेत राजनीति नछोडेको बताइन् । ‘मैले राजनीति छोडेको थिइनँ । म गृहिणी थिएँ, तर महिला संघको काममा पनि उत्तिकै सक्रिय थिएँ । मैले पद लिइनँ, तर राजनीति छोडेको थिइनँ,’ सिंहले भनिन् । 

उनले आफू मेयर भएपछि काठमाडौंका महिलाको जीवनस्तर उकास्ने कुरालाई प्राथमिकतामा राख्ने बताइन् । 

‘म आफैँ महिला हुँ । म मेयर भएपछि मेरो ध्यान महिलाको सशक्तिकरणमा केन्द्रीत हुनेछ । काठमाडौं राजधानी त हो । तर, यहाँ पनि महिलाका दुःख कम छैनन्,’ उनले भनिन्, ‘यो देशको राजधानी त हो, तर महिलाहरूले धेरै दुःख गर्नुपरेको छ । म श्रमिक महिलाको सम्मान गर्छु ।’

उनले आफू मेयर भए गृहिणी महिलाहरूको भत्ताको व्यवस्था गर्ने बताइन् । ‘ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्छु, काठमाडौंमा सुविधासम्पन्न महानगरीय अस्पतालको खाँचो छ, त्यो अस्पतालमा काठमाडौंबासीलाई त छुट हुन्छ नै, अन्य आर्थिकरुपमा विपन्नका लागि समेत निःशुल्क उपचार हुने व्यवस्था गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully