६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भयौं : माओवादी केन्द्र

स्थानीय विशेषताअअनुसार घोषणापत्र

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको बताए । 

गठबन्धनका दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दिएका स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने दिन तथा मतदानको अघिल्लो दिनसम्म पनि मेलमिलापतको प्रयास जारी रहने महराले बताए । 'आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा ६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भएका छौं । बाँकी केहीमा अलिकति मिलेको छैन । पार्टीभित्र पनि मिलेको छैन, पार्टी-पार्टीको बीचमा पनि मिलेको छ । केही प्रक्रिया जारी छ । यो मिल्ने क्रम बेलुकीसम्म चल्नेछ,' उनले भने, 'मनोनयन फिर्ताको कार्यक्रम १६ मा छ, मतदानको अघिल्लो दिन २९ सम्म एकले अर्कोलाई सहयोग गर्ने भन्ने प्रयास भइरहन्छ । अहिले पनि मिल्ने क्रम जारी रहेको भन्ने खबर छ ।'

सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचन सम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने बताए । 

सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उनको भनाइ थियो । केही ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धन गरेको भन्ने अनौपचारिक खबर आएको भन्दै महराले गठबन्धनभित्र भएको निर्णय कांग्रेसलाई पनि लागु हुने बताए । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका थिए । 

भरतपुरमा कांग्रेसका पूर्वसांसदले मेयरमा उम्मेदवारी दिने घोषणा गरेको भन्ने जानकारी आएको जानकारी गराउँदै महराले भने, 'भरतपुरमा उम्मेदवारी दिने कांग्रेसका पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ ।'

स्थानीय विशेषताअअनुसार घोषणापत्र

माओवादी केन्द्रले स्थानीय विशेषताअनुसार घोषणापत्र जारी गर्ने भएको छ । महराका अनुसार पार्टी केन्द्रले सर्कुलर जारी गर्ने र स्थानीय तहहरूले आफ्नो विशेषताअनुसार घोषणापत्र लेख्नेछन् । 

'केन्द्रीय स्तरभन्दा पनि स्थानीय तहमा आफ्नो आवश्यकतअनुसार घोषणापत्र जारी गर्नुपर्छ । आफ्नो विशेषतामा आधारित भएर स्थानीय निकायले घोषणापत्र निकाल्नेछन्,' उनले भने, 'हामीले स्थानीय निकायलाई शक्तिशाली गर्ने भनेकै हौं । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने, सिंहदरबारको सत्तालाई जनतासम्म पुर्‍याउने भनेकै छौं त्यसैले केही अधिकार हामीले तल दिन चाहन्छौं । त्यसकारणले पनि घोषणापत्र स्थानीय तहमा निस्किन्छ ।'

माओवादीका स्थानीय कमिटीहरूलाई 'व्यवस्था परिवर्तन गर्‍यौं, अब अवस्था परिवर्तन गर्छौं' भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनमा जान निर्देशन भएको उनको भनाइ थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully