नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस बाँके अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार राति उम्मेदवार टुंगो लगाएको हो ।
विष्ट नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् । पार्टीको १४ औं महाधिवेशनमा विष्ट अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका थिए । नेपालगन्ज नगर सभापतिमा उनको यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो ।
उनी पहिलोपटक २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाइ कमिटीमा आबद्ध भएका थिए । २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाइ कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिव चुनिएका थिए । २०५६ सालमै नेविसंघ नेपालगन्ज अध्यक्ष बनेका विष्ट नेपालगन्ज नगरका लोकप्रिय युवा नेता मानिन्छन् ।
उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेर विजयी भएका थिए । २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भए । २०६१ सालमा पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे ।
टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा थिए ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् ।
