कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गठबन्धन ‘सेट’ मै तालमेल दर्जन जिल्लामा मात्रै

उपेक्षा गरिएको भन्दै एकीकृत समाजवादी र जसपाको असन्तुष्टि
गठबन्धनबीच आइतबार रातिसम्म ६६ जिल्लाका स्थानीय तहमा आंशिक तालमेल
बबिता शर्मा

काठमाडौँ — सत्ता गठबन्धनले केन्द्रमा सात मापदण्डका आधारमा सिट बाँडफाँट गर्ने सहमति गरे पनि जिल्ला–जिल्लामा समस्या कायम छ । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिन उम्मेदवार मनोनयन दर्ताका लागि समय तोकेको छ तर आइतबार रातिसम्म गठबन्धनबीच सिट बाँडफाँटलाई लिएर ६६ भन्दा बढी जिल्लामा विवाद देखिएको छ । करिब एक दर्जन जिल्लामा मात्र सेटमै तालमेल भएको गठबन्धनले जनाएको छ ।

गठबन्धन ‘सेट’ मै तालमेल दर्जन जिल्लामा मात्रै

केन्द्रबाट ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँट टुंगिए पनि गठबन्धनभित्रबाटै बागी उम्मेदवारी परेको छ । सिट बाँडफाँटमा जिल्लाहरूमा उपेक्षा गरिएको भन्दै एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताले असन्तुष्टि जनाएका छन् । कतिपय जिल्लामा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनबाट अलग भएर उम्मेदवार घोषणा गरेका छन्, कतिपयमा गठबन्धनका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट बागी उम्मेदवारी परेका छन् ।

आइतबार रातिसम्म गठबन्धनबीच दर्जन जिल्लामा मात्रै सिट बाँडफाँटमा सहमति जुटेको छ । भक्तपुर, काभ्रे, धादिङ, दोलखा, नुवाकोट, हेटौंडा र सिन्धुलीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ भने ललितपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । पाल्पा, हुम्ला र दार्चुलामा पनि भागबन्डा टुंगिएको छ ।

जिल्लाहरूमा एकीकृत समाजवादीलाई उपेक्षा गरिएको भन्दै अध्यक्ष माधवकुमार नेपालले शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा असन्तुष्टि राखेका थिए । नेपालले महानगर तथा उपमहानगरको वडाध्यक्ष तथा अन्य पालिकामा प्रमुख र उपप्रमुखसहितका पद बाँडफाँट न्यायोचित नभएको गुनासो राखेका थिए । त्यसअघि नेपालले पार्टी कार्यालयमा भएको एक कार्यक्रममा जिल्ला–जिल्लाको अवस्था आशावादी र उत्साहित हुने खालको नभएको बताएका थिए ।

तालमेलमा देखिएका समस्या र असन्तुष्टिलाई सम्बोधन गर्न भन्दै दाहाल र नेपाल आइतबार पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग छलफल गर्न बालुवाटार पुगेका थिए । बालुवाटारमा करिब दुई घण्टाको छलफलमा समस्या देखिएका पालिकामा केन्द्रबाटै समन्वय गर्ने समझदारी बनेको एक नेताले बताए । स्थानीय तहमा भागबन्डाको रस्साकसीले भने असन्तुष्टि व्यवस्थापन गर्न सकस परेको छ ।

जनता समाजवादीका नेताहरू पनि जिल्ला–जिल्लामा भएका तालमेललाई लिएर असन्तुष्ट छन् । गठबन्धनका शीर्ष नेतामध्ये जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा विवाद देखिएको छ । त्यहाँको विवादबारे छलफल गर्न भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई शनिबार बालुवाटार बोलाइएको थियो । गोरखामा पाँच दलबीच सहमति हुन नसकेपछि कांग्रेस र माओवादीले तालमेल प्रयास गरेका थिए । त्यसलाई लिएर भट्टराईले देउवा र दाहालसँग असन्तुष्टि व्यक्त गरेका थिए । गोरखामा भट्टराई र श्रेष्ठ पक्षबीच विवाद हुने गरेको छ ।

जसपालाई उपेक्षा गरे गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी भट्टराई पक्षले दिएपछि गठबन्धनका शीर्ष नेताहरूलाई झस्काएको एक नेताले बताए । त्यसलगत्तै केन्द्र र प्रदेशबाट गोरखामा भागबन्डा टुंग्याइएपछि कांग्रेसले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । जसपाको प्रभाव रहेको मधेस र लुम्बिनी प्रदेशका केही पालिकामा पनि कांग्रेस र माओवादीले उपेक्षा गरेको भन्दै नेताहरू असन्तुष्ट बनेका छन् । मधेसबाहेक अन्य प्रदेशका जिल्लामा जसपा भागबन्डामा परेको छैन । नेपालगन्ज उपमहानगरबाहेक त्यहाँका वडामा कांग्रेस र जसपाले एक्लाएक्लै लड्ने निर्णय गरेपछि गठबन्धनबाट माओवादी बाहिरिएको छ ।

वाग्मती प्रदेशका अधिकांश जिल्लामा कांग्रेस र माओवादीबीच मात्रै तालमेलको प्रयास भएपछि प्रदेशको पाँचदलीय संयन्त्रले हस्तक्षेप गरेर केही जिल्लामा भागबन्डा टुंग्याइदिएको छ । प्रदेशले टुंग्याएको सिन्धुलीमा कांग्रेस र माओवादीबीच मात्रै तालमेल भएको छ । भक्तपुर, चितवन, मकवानपुर, धादिङलगायत जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भागबन्डा गरिएको छ । यसबाहेक कर्णाली प्रदेशमा प्रदेश संयन्त्रले हस्तक्षेप गरेर भागबन्डा टुंग्याउने प्रयास गरे पनि रोल्पामा माओवादी एक्लै चुनावमा जाने भन्दै उम्मेदवार तय गरेको छ ।

एकीकृत समाजवादी पार्टीका एक नेताका अनुसार अधिकांश जिल्लामा विवाद भएको छ । ‘कांग्रेसमा दम्भ देखियो, माओवादीले पनि धेरै ठाउँमा एस र जसपालाई उपेक्षा गर्दा समस्या आयो,’ ती नेताले भने, ‘धेरै ठाउँमा हाम्रो त अस्तित्व नै स्वीकार गरिएन । त्यसकारण एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिन बाध्य भयो । केन्द्र र प्रदेशले हस्तक्षेप गरेर सोमबार बिहानसम्म सहमति जुट्यो भने जुट्यो, नजुटे त्यसको प्रभाव देशैभर देखिन सक्छ ।’

केन्द्रबाटै भागबन्डा भएको ललितपुर उपमहानगरमा कांग्रेस र माओवादीले मात्रै वडा बाँडफाँट गरेपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गराउने भएको छ । जबकि ललितपुरको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले ललितपुर महानगर प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा वज्राचार्यलाई उठाउने भएको छ । भरतपुर महानगरमा कांग्रेसबाट प्रमुखमा बागी उम्मेदवारी दिने तयारी भएको स्थानीय नेताले बताएका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीले प्रमुखमा उम्मेदवारी दिने सहमति भएको थियो ।

नेपालगन्ज उपमहानगरबाहेकका पालिका र वडामा कांग्रेस र जसपाबीच भागबन्डाको प्रयास भएको भन्दै माओवादी बाहिरिएको छ । बुटवल उपमहानगरमा बेवास्ता गरेको भन्दै जसपाबाट प्रमुखमा सुरज हिताङ र उपप्रमुख सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पाँच दलले महानगर, उपमहानगरका प्रमुख–उपप्रमुखको सिट बाँडफाँट केन्द्रीय संयन्त्रबाट गरेका हुन् । वैशाख १७ मा देशैभर तालमेल गर्ने निर्णय गरेपछि पाँच दलले ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ पालिकामा संयन्त्र बनाएका छन् । ती सबै संयन्त्रको समन्वयका लागि केन्द्रमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा स्थानीय तह तयारी र अनुगमन समिति बनेको छ ।

गठबन्धनमा रहेका दलले एकीकृत समाजवादीमा कायम जनप्रतिनिधिलाई मान्यता दिने, २०७४ को निर्वाचनमा दलका उम्मेदवारले प्राप्त गरेको मतभार हेर्ने, एकीकृत समाजवादीलाई एमाले विभाजित बनेर बनेको मुख्य शक्तिका रूपमा स्वीकार गर्ने, वर्तमान समयमा गठबन्धनका दलको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि आधार मानेर सिट बाँडफाँट गर्ने सहमति छ । यसैअनुसार गठबन्धनले केन्द्रबाटै ‘मापदण्ड, सहमतिको मर्म र भावनाअनुरूप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवार चयन गर्न’ निर्देशन दिएको थियो तर एकले अर्कालाई छाड्न नमान्दा वा हैसियतभन्दा बढी सिट खोज्दा जिल्लाहरूमा समस्या आएको नेताहरूको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?