तनहुँमा ठूला दलले नै टुङ्ग्याएनन् उम्मेदवारी

वैशाख ११, २०७९

कान्तिपुर संवाददाता

तनहुँ — नेपाली कांग्रेसका बरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमै गठबन्धनभित्र सहमति बन्न सकेको छैन । जिल्लामा ४ दलीय गठबन्धनबीच तालमेल नमिल्दा उम्मेदवारी दर्ता गर्ने पहिलो दिनको साँझसम्म पनि दलहरुले पालिकाका उम्मेवारहरूको टुङ्गो लगाउन सकेका छैनन् ।

जिल्लाका ठूला दलले आफ्नो उम्मेदवार टुङ्गो लगाउन नसक्दा आइतबार कुनै पनि दलले उम्मेदवारी दर्ता गराएनन् । सत्तारुढ दलबीच स्थानीय तहको सिटको भागबण्डा नमिल्दा उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले हालसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । जिल्लामा नेकपा माओवादी एकल रुपमा निर्वाचनमा जाने गरी आन्तरिक तयारीमा जुटेको छ भने नेपाली कांग्रेस र समाजवादीबीच चुनावी तालमेल गर्ने गरी उम्मेदवारको नामावाली टुङ्ग्याउने कसरतमा जुटेका छन् ।  

यस्तै, नेकपा एमाले तनहुँले पनि उम्मेदवारको नाम टुङ्गो लगाउन नसक्दा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने गरी तयारी गरेको छ । जिल्लामा एमालेले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूहसँग चुनावी तालमेल गरी निर्वाचन लड्ने तयारी गरेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully