मधेस प्रदेशमा जसपाले अझै उम्मेदवार चयन गर्न सकेन

वैशाख ११, २०७९

राजविराज — स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन जनता समाजवादी पार्टीले मधेस प्रदेशका सबै स्थानीय तहको उम्मेदवार चयन गर्न सकेको छैन । 

शनिबार रातभर जनकपुरमा जसपाका प्रमुख नेताहरु र प्रदेश समितिको बैठक भए पनि प्रदेशका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लाग्न सकेको छैन । 

यसबीचमा चुनावमा उम्मेदवारको विषयलाई लिएर विवाद र हात हालाहालसमेत भएको थियो । केन्द्रबाट टिकट लिएर आएकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले टिकट वितरणमा प्रदेश समितिको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै प्रदेश समितिका पदाधिकारीहरुले आरुोप लगाएका छन् ।

शनिबार रातभर जनकपुरको एक होटेलमा भएको बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्यहरुका अतिरिक्त कार्यकारिणी सदस्यहरु रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, नवलकिसोर साह, रामनरेश राय लगायत नेताहरु सहभागी थिए । सो बैठकअघि नै पर्साको टिकट वितरण गरिसकिएको थियो ।

बैठकमा सर्लाहीको पर्सा गाउँपालिका र कबिलासी गाउँपालिकाको विषयमा विवाद भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार पर्सा गाउँपालिकामा कार्यकारिणी सदस्य रामनरेश रायका छोरा अध्यक्ष पदका दावेदार छन् ।

उनको टिकटमा समस्या भएपछि राय आक्रोसित भएका थिए । यस्तै कबिलासी गाउँपालिका प्रदेश सभा सदस्य संजय यादव र अशोक यादवका परिवारवाट उपाध्यक्षमा उम्मेदवार भएपछि विवा छ । यस्तै सप्तरीको केही स्थानीय तहमा पनि विवाद छ ।

सिरहा र सप्तरीको विवाद समाधान गरी टिकट वितरण गर्न बिहान बैठक डाकिए पनि बैठक हुन सकेन । जसपा मधेस प्रदेश समितिका उपाध्यक्ष शम्भु झाका अनुसार जसपाले अहिलेसम्म एक सय स्थानीय तहको उम्मेदवार टुंगो लगाइसकेको छ । ‘मधेस प्रदेशका केही स्थानीय तहमा छलफलमै छौं,आइतबार रातसम्म सबै टुंगो लाग्ने छ’ उनले भने ।

प्रदेश समितिका अधिकांश पदाधिकारीहरुले बैठकमा छलफल नै नगरी टिकट वितरण गरिएको आरोप लगाएका छन् । प्रदेश समितिका केही पदाधिकारी र केही जिल्ला अध्यक्षहरुले पार्टीमा नियम कानुनभन्दा पनि व्यक्तिवादी सोचबाट ग्रसित भइ केन्द्रीय नेताको ठाडो हस्तक्षेपले टिकट वितरण भइरहेको आरोप लगाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully