पहिलो दिन देशैभर ३ हजार ५६ जनाको उम्मेदवारी

काठमाडौं महानगर मेयरमा १७ र उपमेयरमा १६ जनाको उम्मेदवारी

वैशाख ११, २०७९

मकर श्रेष्ठ

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न देशैभर आइतबार ३ हजार ५६ जनाले मनोनयन दर्ता गरेका छन् । ३५ हजार २ सय २१ पदको लागि हुने निर्वाचनमा आयोगले आइतबार मनोनयन दर्ता सुरु गरेको थियो ।

आयोगका अनुसार महानगर, उपमहानगर तथा नगरपालिका प्रमुखमा २ सय १८, उपप्रमुखमा १ सय २, गाउँपालिका अध्यक्षमा १ सय ७२, उपाध्यक्षमा ७५, वडा अध्यक्षमा ९ सय २८, वडा सदस्यमा ८ सय ७७, महिला सदस्यमा ३ सय ९६, दलित महिला सदस्यमा २ सय ८८ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ । 

मनोनयन दर्ता गर्नेमा प्रमुख दलका प्रतिनिधि न्यून छन् । दलहरुले उम्मेदवारसमेत टुङगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा अन्योल देखियो ।

आयोगले सोमबार पनि बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नसक्ने समय निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार काठमाडौं महानगरपालिकामा प्रमुख पदमा १७ जना र उपमेयरमा १६ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय तह निर्वाचन २०७९

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully