काठमाडौँ — नेकपा एमालेले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी परेका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छपाउने निर्वाचन आयोगको निर्णय गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आशयबाट प्रेरित भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगलाई एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुने बताएका छन् ।
‘अनलाइनहरुले आयोगका सुत्रका अनुसार भनि प्रकाशित गरेको समाचार यदि साँचो हो भने अन्य पालिकाहरुको भन्दा भिन्न भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ,’ एमालेको पत्रमा भनिएको छ ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्तो कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’
आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराएका थिए ।
‘प्रकाशित समाचारहरुले आम जनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौं’ पत्रमा भनिएको छ, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब/प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउनुहुन अनुरोध समेत गर्दछौं ।’
एमालेले आयोगको तयारी र गठबन्धन शीर्ष नेताहरुको अभिव्यक्ति मिल्दोजुल्दो भएको बताएको छ ।
