कोरियाबाट तीन दिनअघि स्वदेश फर्किएका काफ्ले पनि मेयर उम्मेदवार । जिते नगरको मुहार फेर्ने, हारे विदेश फर्किने ।
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोट र कावासोती नगरपालिकामा तीन जनाले मुख्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
गैंडाकोटको मेयरमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट विष्णुमान विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा श्याम सुन्दर भुसालले मनोनयन दर्ता गरेका छन् ।
यस्तै कावासोतीको मेयरमा लोक प्रसाद काफ्लेले मनोनयन दर्ता गराएका छन् । नेकपा मालेका जिल्ला अध्यक्ष काफ्लेले आफ्नो पार्टी दर्ता नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
५ वर्षसम्म वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका काफ्ले तीन दिनअघि शुक्रबार मात्रै स्वदेश फर्किएका हुन् । उनले जितेको खण्डमा कावासोतीको मुहार फेर्न कस्सिएर लाग्ने नत्र विदेश नै फर्किने बताएका छन् ।
उनले आफूलाई कांग्रेस र कम्युनिस्टबाट असन्तुष्टहरूले मतदान गर्ने दाबी गरेका छन् । नेकपा माले दर्ता नभएका कारण स्वतन्त्र उम्मेदवारी दिनु परेको उनले सुनाए । अब केही वडामा पनि सोमबार उम्मेदवारी दिने मान्छे खोज्दै गरेको उनले बताए ।
