काठमाडौँ — स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा आफ्ना संकल्प सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले १५ बुँदे संकल्प पेस गरेको हो ।
जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, स्थानीय पूर्वाधार, पर्यटन, उद्यमशीलता र रोजगारी, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाइ, विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, कला, संस्कृति, पर्यटन, सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म, भू–उपयोग योजना र भूमिमाथि नागरिक अधिकार, जलवायु परिवर्तन र हरित अर्थतन्त्र गरी विषयगत रुपमा संकल्प पेस गरिएको छ।
शिक्षाका लागि द्रूत गतिमा विकास भइरहेको प्रविधि, भूमण्डलिकरण र विश्व परिवेशमा विकसित हुँदै गरेको आर्टिफिशियल इन्टेलिजेन्स, रोबोटिक्स, स्वचालनको उपभोग गर्दै तिनको विकास र निर्माणमा सहभागी हुनसक्ने शिक्षाको जग बसाउन नेपाली कांग्रेसको नेतृत्वका स्थानीय सरकारहरूले समानान्तर रुपमा प्राथमिकतामा राख्ने बताइएको छ ।
यस्तै स्वास्थ्यको क्षेत्रमा कांग्रेसले आफ्नो घोषणापत्रमा 'सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी !' नारा उल्लेख गर्दै संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न कांग्रेसले संकल्प गरेको छ ।
यस्तै कृषि क्षेत्रमा कांग्रेसले संविधानले स्थानीय सरकारलाई कृषि क्षेत्रमा दिएको जिम्मेवारी पूरा गराउने जनाएको छ । साथै स्थानीय तहको स्रोत र वित्तीय व्यवस्थापनमा देहायको नीति अवलम्बन गरिने कांग्रेस घोषणापत्रमा संकल्पको रुपमा उल्लेख छ ।
यस्तै स्थानीय पूर्वाधार, उद्यमशीलता र रोजगारी, पर्यटन लगायत विषयमा पनि प्राथमिकता साथ कांग्रेसले संकल्प पेस गरेको छ । यसबाहेक 'कोखदेखि शोकसम्म' कार्यक्रमलाई सामाजिक सुरक्षाको रुपमा संकल्प गरेको छ । जस अन्तर्गत नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सम्पूर्ण स्थानीय सरकारहरुले सामाजिक सुरक्षामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आवश्यकता अनुसार थप सामाजिक सुरक्षाका कार्यक्रमहरू लागू गर्ने उल्लेख गरिएको छ ।
