विराटनगर — विराटनगर महानगरपालिकाको मेयरमा उमेश यादवले स्वतन्त्रवाट उम्मेदवार दर्ता गरेका छन् । उनले शनिबार जनता समाजवादी पार्टीको संघीय परिषद् सदस्य त्याग गरेका थिए । उनी यसअघिको स्थानीय निर्वाचनमा जसपाबाट मेयरका उम्मेदवार थिए ।
यस पटक पनि जसपाबाट मेयरको उम्मेदवारी घोषणा गरेका यादवले सत्ता गठबन्धनमा मेयरको भाग कांग्रेसलाई परेपछि असन्तुष्टि पोख्दै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनले अघिल्लो निर्वाचनमा १४ हजार ९ सय ५८ मत ल्याएका थिए । त्यसैगरी कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए ।
यसैगरी वडा नम्बर १० मा अघिल्लो पटक स्वतन्त्रवाट वडा अध्यक्षमा विजयी माधवराज वाग्लेले यस पटक पनि स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी वडा सदस्यमा मोहन साहले स्वतन्त्र उम्मेदवार दिएका छन् ।
चुनावी तालमेल नमिल्दा र उम्मेदवारको टुंगो नलाग्दा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले आइतबार महानगर र अन्य पालिकामा कुनै पनि पदमा उम्मेदवारी दर्ता गरेका छैनन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवार मनोनयन गर्ने जानकारी निर्वाचन कार्यालयलाई दिएको बताइएको छ ।
