काठमाडौँ — नेपाली कांग्रेसले तत्कालीन नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकारका विकृति र विसंगतिको जिम्मेवार माओवादी र एकीकृत समाजवादी पनि रहेको घोषणापत्रमा उल्लेख गरेको छ । स्थानीय तह निर्वाचनका तयार पारेर आइतबार सार्वजनिक गरिएको कांग्रेसको घोषणापत्रमा माओवादी र एकीकृत समाजवादीको पनि आलोचना गरिएको छ ।
घोषणापत्रमा नेकपा कालका सरकारी विकृतिको मूल जिम्मेवार भने एमाले अध्यक्ष केपी शर्मा ओली रहेको उल्लेख छ ।
'२०७४ देखि २०७९ सम्मको अवधि नेकपा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको अतिक्रमण, संविधानमाथि आक्रमण र जनादेशको अपमान गरी सत्ताको ताण्डव नृत्य मच्चाएको अभिशप्त कालखण्ड हो । यस्तो कालखण्डको अध्यायमा अहिले अर्धविराम लागेको छ । अब निर्वाचनमार्फत यो प्रवृत्तिलाई पूर्णविराम लगाउनु अपरिहार्य छ,' घोषणापत्रमा भनिएको छ, 'स्मरणीय छ, अहिलेका नेकपा (माओवादी) र (एकीकृत समाजवादी) तत्कालीन नेकपामा आवद्ध थिए । नेकपा र नेकपाको सरकारको कारणले सृजना भएका यी तमाम विकृति–विसंगतिप्रति मूलतः तत्कालीन प्रधानमन्त्री ओली प्रमुख रुपमा जिम्मेवार भए पनि तत्कालीन सन्दर्भमा नेकपा (माओवादी) र (एकीकृत समाजवादी) पनि आंशिकरुपमा जिम्मेवार भएको तथ्य पनि बिर्सन मिल्दैन । तर, उक्त अभिशप्त कालखण्डबाट नेकपा (माओवादी) र (एकीकृत समाजवादी) ले शिक्षा लिएका छन् भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।'
२०७४ सालमा सम्पन्न तीनै तहको चुनावमा तत्कालीन नेकपाले बहुमत प्राप्त गरी देशका पक्षमा काम गर्ने मौका पाए पनि अधिकांश समय र ऊर्जा अधिनायकवादी तथा सर्वसत्तावादी शासन स्थापना गर्न मै खर्च गरेको कांग्रेसको आरोप छ ।
नेकपाको सरकार गठन भएदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अब्ग सञ्चार जगतमाथि नियोजितरुपमा संगीन आक्रमण गर्दै आफूले पाएको सुनौलो अवसरको अधिकांश समय र ऊर्जा अधिनायकवादी तथा सर्वसत्तावादी शासन स्थापना गर्नमै समय खर्च गरिएको कांग्रेसको आरोप छ ।
कांग्रसेले केपी शर्मा ओलीको महत्त्वाकांक्षाका लागि समग्र प्रणाली नै तहसनहस बनाइएको बताएको छ । कांग्रेसको संकल्पमा भनिएको छ, ‘वास्तवमा यतिखेर निर्वाचनबाट प्राप्त जनादेश अनुसार सरकारमा नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षमा नेपाली कांग्रेस बसेर संविधानको कार्यान्वयन गर्न तीव्र प्रतिस्पर्धा भइरहेको अवस्था हुनुपर्ने हो । तर दुर्भाग्यवश, त्यस्तो हुन सकेन । नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रिकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्त्वाकांक्षाका खातिर आˆनो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो । फलस्वरुप, कम्युनिस्ट सरकारले मुलुकलाई बल्लबल्ल प्राप्त स्थिरताको लाभ लिनबाट फेरि एकचोटि वञ्चित मात्र गरेन, झन् भयंकर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम समेत बढाएर गयो ।’
ठूलो जनादेश पाए पनि नेकपाले देश बनाउन नभई जनादेशको खतरनाक दुरुपयोग गरेको कांग्रेसले बताएको छ । ‘ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउन होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समयमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुःखान्त हो,’ कांग्रेसले आफ्नो संकल्पमा भनेको छ ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । उक्त एकता ४० महिनापछि भंग भएको थियो । तत्कालीन नेकपाका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादले उग्र रुप लिएपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । सोही विवादबाट पार पाउन प्रधानमन्त्रीको पदमा रहेका ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए ।
दोस्रोपटकको प्रतिनिधिसभा विघटनलाई पनि सर्वोच्च अदालतले उट्याएर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसपछि एमालेबाट माधवकुमार नेपाल समूह अलग्गिएर एकीकृत समाजवादी गठन भएको थियो । हाल माओवादी र एकीकृत समाजवादी पनि कांग्रेस नेतृत्वको सरकारमा रहेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दलले माओवादी र एकीकृत समाजवादीलाई ओलीको कार्यकालमा भएका विकृतिको आंशिक जिम्मेवार ठहर गर्दै त्यसबाट पाठ सिकेका होलान् भन्ने विश्वास घोषणापत्रमा उल्लेख गरेको छ ।
कांग्रेसको घोषणापत्र महामन्त्री गगन थापाको नेतृत्वमा तयार भएको हो । उक्त घोषणापत्र प्रधानमन्त्री तथा पार्टी सभापति देउवासहित कांग्रेस पदाधिकारीहरूले सार्वजनिक गरेका हुन् ।
