चौतारा साँगाचोकगढीको मेयरमा माओवादीबाट ५ जना सिफारिस

वैशाख ५, २०७९

अनिश तिवारी

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरको प्रमुखमा माओवादी केन्द्रबाट पाँच जनाको नाम सिफारिस गरिएको छ । चौतारा साँगाचोकगढी नगरको मेयर पदको उम्मेद्वारीमा नगर कमिटीको बैठकले निर्णय गर्दै मेयरमा पाँच जनालाई माथिल्लो तहमा सिफारिस गरिएको हो ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार सिफारिस गरिएका क्रमश : माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज कृष्ण सापकोटा देशबन्धु, जिल्ला अध्यक्ष गोविन्द पराजुली, हालका मेयर अमानसिं तामाङ, उपमेयर जानुका पराजुली र श्यामसुन्दर श्रेष्ठ छन् ।

‘नगर प्रमुखमा धेरैको दाबी थियो, धेरै बहस, छलफल र सहमतिको आधारमा नाम छाटेर चार जनाको सिफारिस भएको छ, तल्लो कमिटीबाट छनोट भएर आएका आकांक्षीको नाम सिफारिस गरेर पार्टीको माथिल्लो निकायमा पठाइएको छ, आवश्यक माथिबाट आएको उम्मेद्वार र निर्णय स्वीर्कानेमा सबैको एकमत छ,’ उनले भने ।

जिल्लाको तीन नगर र नौ गाउापालिकाभर केही महिला नेताले दिएको उम्मेद्वारी र चुनावी एजेण्डालाई गठबन्धनले पुरै छायामा पारेको देखिन्छ । जनयुद्धमा जीवनलाई पूरै होमेकी पूर्वलडाकु हालकी उपमेयर पराजुलीले पाँच जना पुरुषबीच नगर कमिटीबाट मेयर पदको उम्मेद्वारको लागि सिफारिस भएकी छिन् ।

जिल्ला निर्वाचन कार्यालयका विदुर रायमाझीका अनुसार आहिलेसम्म जिल्लाभरको स्थानीय तहको मेयरदेखि अन्य पदमा उम्मेद्वारी दिनेमा सगरमाथा आरोही, होटेल व्यवासायीदेखि केही उद्यमी,कृषकसम्म छन् ।

स्थानीय तह निर्वाचन २०७९

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully