रुकुम पश्चिम — यहाँ गठबन्धनको सम्भावना अनिश्चित भएको छ । सत्ता गठबन्धन दलबीच लामो समयदेखि चल्दै आएको बैठक बिना निष्कर्ष सकिएपछि गठबन्धन हुने सम्भावना पनि घट्दै गएको देखिएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आ–आफूले गरेको दाबी नछाडेपछि गठबन्धन हुने सम्भावना टर्ने सम्भावना छ । पाँचौं बैठकसम्म आइपुग्दासम्म कुनै पनि राजनीतिक दल आफूले गरेको दाबीबाट पछि हटेका छैनन् । विशेषगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले बलियो दाबी गरिरहेका छन् । एकीकृत समाजवादीले पनि केन्द्रीय अवस्था र निर्देशन अनुसारकै भाग पाउनुपर्ने दाबी गर्दै आएको छ ।
नेपाली कांग्रेस ५० प्रतिशत सिट माग दाबीबाट पछि हटेको छैन भने माओवादी केन्द्रले विगतको मतभारका आधारमा प्रमुख बाहेकका पद बाँडफाँट गर्नुपर्ने दाबी कायमै राखेको छ । कोही पनि राजनीतिक दल आफ्नो दाबीबाट पछि नहटेपछि सोही बमोजिमको निर्णय लेखेर केन्द्रमा पठाइएको छ । माओवादी केन्द्र लचक नभएपछि जे दाबी हो त्यही निर्णय लेखेर केन्द्रमा पठाइएको नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओलीले बताए ।सबैले सम्मानजनक अवस्थाबाट अघि बढौं, गठबन्धनमै जाऔं भनेर लाग्दा पनि कतिपय दलका कारण त्यो सम्भव नभएको ओलीको भनाइ छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले गठबन्धनका लागि सहमति नभएपछि दलका दाबी नै केन्द्रमा पठाइएको जानकारी दिए । दलका दाबीका आधारमा केन्द्रीय गठबन्धनमा आउने निर्देशन, सर्कुलरका आधारमा थप निर्णय गरेर अघि बढ्ने संयोजक रोकाले बताए । ‘दलका दाबी लेखेर पठाइएको छ, त्यसका आधारमा आउने निर्देशन अनुसार अघि बढ्ने निर्णय पनि दलकाबीचमा भएको छ,’ रोकाले भने ।
कांग्रेसले २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका उपाध्यक्षको साथमा ३० वडाध्यक्षमा दाबी गरेको छ । माओवादी केन्द्रले सबै पालिकामा प्रमुख बाहेकमा छलफल गर्न सकिने भन्दै आएको छ । एकीकृत समाजवादीले एक पालिका, जनता समाजवादीले पनि एक पालिकाको उपप्रमुख वा उपाध्यक्षमा दाबी गरेका छन् ।
२०७४ सालमा जिल्लाका ६ वटै स्थानीय तहका दुई वटै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए । ७३ वडामध्ये ५८ वटा माओवादी केन्द्रले मात्रै जितेको छ । नेपाली कांग्रेसले १३ वडा र तत्कालीन एमालेले २ वडा जितेको छ ।
