महानगरको मेयर र उपमेयर उम्मेदवारबारे कांग्रेसमा दुईथरी मत
काठमाडौँ — सत्तारुढ गठबन्धनलाई काठमाडौं महानगरपालिकामा नै स्थानीय तह चुनावमा तालमेल गर्न सकस हुने देखिएको छ । नेपाली कांग्रेस महानगरपालिका समितिले कुनै हालतमा गठबन्धन गर्न नहुने भनेको र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि गठबन्धन गरेर मेयर र उपमेयर तथा वडा अध्यक्षहरूमा दाबी गरिरहेको अवस्थामा मिलाउन गाह्रो पर्ने देखिएको हो ।
गठबन्धनको प्रमुख घटक कांग्रेसको काठमाडौं महनगर समितिको बैठकमा आइतबार स्थानीय तह चुनाव एक्लै जित्ने अवस्था रहेको आवाज उठेको थियो । जमलमा बसेको बैठकमा बोल्ने ३२ वटै वडा सभापति तथा नेताले अहिले काठमाडौं महानगरको कांग्रेस संगठन एक्लै जित्ने गरी बलियो बनेको दाबी गरेका थिए ।
बैठकमा उपस्थित वडाका सभापतिले आफू बलियो भएको ठाउँमा तालमेल नगर्ने भन्ने कुरा केन्द्रबाट नै आएको दाबी गर्दै काठमाडौं महानगरपालिकामा एक्लै लड्नुपर्नेमा जोड दिएका थिए ।
महागर समिति सचिव सुसन वैद्यले बैठकमा उठेका विषयबारे भने, 'महानगर समिति बैठकमा चुनावी गठबन्धनको विरोध भएको छ । हामी एक्लै चुनाव जित्दैछौं भन्ने कुरा वडाबाट आएको छ । वडा र अरु नेता गरी ३४ जनाले बोल्नुभयो; बोल्ने जतिले गठबन्धन गर्नुहुन्न भन्नुभएको छ ।'
गठबन्धनको विरोध तीव्र रूपमा आएपछि महानगर समिति सभापति निलकाजी शाक्यले रोक्नुपरेको थियो । उनले अन्तिममा माथिको निर्देशन मान्नैपर्ने तर आफ्नो कुरा राख्नुपर्ने भन्दै धेरै विरोध नगर्न भन्नुपरेको थियो ।
वैद्यले थपे, 'तल्लो तहको कार्यकर्ता जनतासँग जोडिन्छ । जनतासँग जोडिने ठाउँमा रहेकाले उहाँहरूले कुरा राख्नुभएको छ । लोकतान्त्रिक मर्म भनेको चुनाव लड्ने हो । २०७४ को चुनावमा हामी काठमाडौं महानगरमा झिनो मतमा हारेका छौं । ५ वर्ष संगठन गरेका साथीहरूले जित्नेबेला किन गठबन्धन गर्ने भन्ने कुरा राख्नुभएको छ ।' कांग्रेस केन्द्रीय समितिले पनि 'स्थानीय अवस्था र आवश्यकता'का आधारमा तालमेल गर्ने निर्णय गरेको र काठमाडौंमा पार्टी एक्लै जित्ने भएकाले गठबन्धन गर्न नहुने भन्ने कार्यकर्ताहरूको धारणा थियो ।
सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि काठमाडौं महानगरको मेयरमा नै दाबी गरेका छन् । माओवादीले काठमाडौं महानगरपालिका आफ्नो पार्टीलाई दिने भए अन्त छोड्न सकिने बताएको छ भने एकीकृत समाजवादीले पोखरा महानगरपालिका नदिने भए त्यसपछि काठमाडौं महानगरपालिकामा दाबी गर्ने बताएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई नछाड्ने भनेको अवस्थामा काठमाडौं महानगरपालिकामा दिनुपर्ने माओवादीका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले बताए । उनले सबै महानगरपालिका कांग्रेसलाई दिएर गठबन्धन भयो भन्न नसकिने बताए । 'हाम्रो दाबी काठमाडौंको मेयरमा रहेको छ । चितवन नछोड्ने हो भने कांग्रेसले काठमाडौं माओवादीलाई दिनुपर्छ,' उनले भने । कांग्रेसले ६ वटै महानगरपालिकाको प्रमुख आफूलाई चाहियो भन्नु गठबन्धनको सिद्धान्त विपरीत भएको उनको भनाइ थियो ।
एकीकृत समाजवादीका प्रमुख सचेतकसमेत रहेका काठमाडौंबाट सांसद जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताए । 'काठमाडौं महानगरपालिकामा हाम्रो पार्टीले मेयर पदमा दाबी गरेको छ । पोखरा वा काठमाडौंमध्ये १ मा दाबी कायम छ,' उनले कांग्रेसको तल्ला कमिटीले गरेका निर्णयबारे प्रस्ट पार्ने काम नेतृत्वको भएको बताए । 'हामीले बुझ्ने पार्टीको संस्थागत निर्णय के हो भन्ने कुरा हो । कुन व्यक्तिले के भन्यो भन्ने कुरा बुझ्न हुन्न । कांग्रेस केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरेको छ । सभापति तथा प्रधानमन्त्रीले पार्टीका तल्ला कमिटीलाई सर्कुलर जारी गर्नुभएको अवस्थामा तलका कुरा साम्य पार्ने काम नेतृत्वको हो,' उनले भने ।
एकीकृत समाजवादीले काठमाडौं महागरपालिकामा कांग्रेस पछि आफू बलियो रहेको दाबी गरेको छ । काठमाडौं महानगरपालिकाको मेयर पाएमा श्रेष्ठ नै उम्मेदवार बन्ने चर्चा चलेको छ ।
कांग्रेस महानगरसमिति सभापति शाक्यले भने केन्द्रमा गठबन्धन भएपछि माओवादी र एकीकृत समाजवादीले भाग खोज्नु स्वाभाविक भए पनि पार्टीको तल्लो समितिबाट आफू बलियो रहेको र उक्लै जित्ने कुरा आएको बताए ।
महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारबारे कांग्रेसमा दुईथरी मत
कांग्रेसको काठमाडौं महानगर समितिका सभापति शाक्य र उपसभापति शुशीला ढकालले आफूहरूलाई सर्वसम्मत उम्मेदवार बनाएको बताएका छन् । दुवैले काठमाडौं महानगरपालिकाको मेयरमा महानगर समिति सभापति शाक्य र उपमेयरमा उपसभापति ढकाललाई एक नम्बरमा राखेर सिफारिस गर्ने निर्णय लिएको बताएका छन् ।
शाक्यले आफू र ढकाललाई मेयर र उपमेयरको सिफारिस सूचीको १ नम्बरमा राख्ने सर्वसम्मत निर्णय भएको बताए । उनले बाँकी दाबेदारहरूलाई तपसिलमा राखेर सिफारिस गरिने निर्णय भएको बताए । ढकालले पनि भनिन्, 'महानगर समिति सभापतिलाई १ नम्बरमा राखेर मेयरको उम्मेदवार बनाउने र उपसभापतिलाई उपमेयरको १ नम्बरमा राखेर सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको छ ।
सचिव वैद्यले भने उम्मेदवारको नाम टुंगो नलागेको बताए । उनले भने, 'उम्मेदवार नाम टुंगिएको छैन । बैठकले काठमाडौं महानगरपालिका समितिका पदाधिकारीलाई मेयर र उपमेयर पदको उम्मेदवार सिफारिसको टुंगो लगाउने जिम्मा दिएको छ ।' सभापतिको नाम पनि मेयरमा सिफारिस गर्ने कुरा भएको तर निर्णय भइनसकेको उनको भनाइ थियो ।
काठमाडौंको मेयरमा कांग्रेसबाट नीलकाजी शाक्य, हरिप्रभा खड्गी, सिर्जना सिंह, सुसन वैद्यलगायतको दाबी रहेको छ ।
२०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएरका थिए । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डंगोलले भने ७ हजार ९०६ मतमात्रै पाएका थिए ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरू उम्मेदवार चयनका लागि तीव्र रूपमा लागेका छन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । त्यस्तै, प्रतिपक्षमा रहेको एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गरेर जाने भएको छ । उसले राप्रपा, नेपाल र नेपाल परिवार दलसँग गठबन्धन गरेको छ ।
