कैलालीमा जसपाको अगुवाइमा बेग्लै गठबन्धन

वैशाख ३, २०७९

अर्जुन शाह

धनगढी — कैलालीमा जनता समाजवादी पार्टी (जसपा) ले बेग्लै गठबन्धन बनाएको छ । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनभित्रका दलहरुले एक्ला–एक्लै प्रतिस्पर्धा गर्न छूट दिए पनि गठबन्धनबाहेकका अन्य दलसँग तालमेल गर्न नपाइने सहमति भएको थियो ।

कैलालीमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । केन्द्रमा भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल गरी पाँचदलीय गठबन्धन छ । 

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गर्दा आफूलाई समावेश नगरिएको भन्दै रुष्ट भएको जसपाको अगुवाइमा बनेको बेग्लै गठबन्धनका दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन् । उनीहरुले चुनाव चिह्नसमेत प्रमुख पदमा उम्मेदवार रहने दलहरुकै चुनाव चिह्न प्रयोग गर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully