बैतडी — वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेसँगै बैतडीमा पनि चुनावी गतिविधिहरू बढेका छन् । यतिबेला जिल्लामा पार्टीहरू टिकट कसलाई दिने भन्ने छलफलमा जुटेका छन् । सबै पार्टीहरूले टिकटको टुंगो लगाउनका लागि आन्तरिक छलफलमा जुटेको बताएका छन् ।
कुनै पनि पार्टीले उम्मेदवारको अन्तिम टुंगो भने लगाउन सकेका छैनन् । स्थानीय तहको चुनावमा आकांक्षीहरू धेरै छन् । यसै कारणले पनि पार्टीहरूलाई टिकटको टुंगो लगाउन लागि धेरै सकस गर्नु परिरहेको छ ।
यो चुनावमा पदका आकांक्षीहरू धेरै भएको माओवादी केन्द्र, बैतडीका जिल्ला संयोजक शंकर भण्डारीले बताए । ‘अहिले उम्मेदवारको टुंगो लागेको छैन । वैशाख ५ गतेसम्म लगाउने तयारीका साथ अगाडि बढेका छौं । गठबन्धनका लागि पनि छलफलमा छौं । माथिबाट पनि मोडालिटी बन्दै छ । जिल्ला र पालिकामा पनि अभ्यास भइरहेको छ,’ उनले भने, ‘आकांक्षीहरू एकदम धेरै छन् । मिलाउन धेरै मिहिनेत गर्नुपर्नेछ । एउटै पालिकामा ८ जना बढी आकांक्षीहरू एकै पदका छन् ।’ घरआँगनको सरकार भएकाले धेरैले रुचि जनाएका हुन सक्ने उनले बताए । आफ्नो गाउँघरको विकासका लागि साथीहरूले दाबी गरिरहेका उनको भनाइ थियो । धेरैले इच्छा जनाए पनि सहमतिमै अघि बढ्ने प्रयासमा पार्टी रहेको उनले बताए ।
अन्य पार्टीमा पनि आकांक्षीहरू धेरै छन् । आफ्नो पार्टीमा पनि आकांक्षीको संख्या धेरै रहेका एमालेले जनाएको छ । समाजवादीबाट पनि स्थानीय तहको चुवानमा उम्मेदवार बन्नका लागि आकांक्षा धेरैले राखेका समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । अहिलेसम्म उम्मेदवारको टुंगो भने नलगाएको उनले बताए । आन्तरिक तयारीमै आफूहरू रहेको उनले बताए ।
कांग्रेसमा पनि आकांक्षीको संख्या धेरै भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताए । कांग्रेस धेरै नेताको पार्टी भएकोले पनि उम्मेदवार हुने आकांक्षी पनि धेरै रहेका उनले बताए । ‘स्थानीय सरकारमा धेरै अधिकारहरू छन् । आफ्नो गाउँठाउँमै अधिकार पाएर काम गर्न पाइन्छ । त्यही भएर पनि आकांक्षीहरू धेरै छन्,’ उनले भने, ‘पालिकामा मात्र होइन वडामा पनि धेरैको चासो छ ।’
स्थानीय तहको चुनावमा उम्मेदवारका आकांक्षी मात्र धेरै भएका होइनन् । हालका जनप्रतिनिधि पनि दोहोरिन चाहेका छन् । ५ वर्षे कार्यकाल सम्हालिसकेका जिल्लाका अधिकांश जनप्रतिनिधि फेरि त्यही पदमा नै दोहोरिन चाहेका हुन् । कसैले अहिलेकै पद र केहीले एक पदमाथिका लागि उम्मेदवार बन्नका लागि पार्टीमा लबिइङ गरिरहेका छन् । आफू फेरि पनि उपाध्यक्ष पदमा दोहोरिन चाहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।
उनले भनिन्, ‘फेरि काम गर्न पाए भने काम गर्न सकिन्थ्यो होला भन्ने लागेर दोहोरिन खोजेकी हुँ ।’ सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले अध्यक्षमा फेरि दोहोरिन चाहेको बताए । धेरै काम अधुरो रहेकोले पुरा गर्न दोहोरिन खोजेको उनीहरुको भनाई छ ।
