आठ–दस जना आकांक्षी नहुने त वडा नै छैनन्
धनगढी — स्थानीय निर्वाचन नजिकिँदै जाँदा सबै दलमा वडाध्यक्ष पदको उम्मेदवार बन्न पनि रस्साकसी देखिएको छ । उम्मेदवार छनोटको प्रकृया सुरु गर्दा आकांक्षीको संख्या थेग्नै नसक्ने भएपछि कैलालीमा कांग्रेसले आकांक्षीले पार्टीमा शुल्क बुझाउनुपर्ने नियम बनाउनुपर्ने अवस्था आएको सचिव केशव मिश्रले बताए । त्यसअनुसार नगर प्रमुख पदका आकांक्षीले ७ हजार तथा उपप्रमुखले पाँच हजार रुपैयाँ पार्टीलाई शुल्क तिनुपर्नेछ ।
त्यस्तै, गाउँपालिका अध्यक्षले पाँच हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैयाँ शुल्क तिर्नु नियम बनाइएको छ । कांग्रेस बाजुराका सचिव तिलखराज पुरीका अनुसार वडाध्यक्षमा चुनाव लड्न चाहनेहरूको हानाथाप छ । ‘त्रिवेणी नगरपालिका वडा नम्बर २ मा १८ जनाको दावी आयो,’ उनले भने ‘आठ–दश जना आकांक्षी नहुने त वडा नै छैनन् ।’ कांग्रेसमा मात्रै हैन, अर्को मुख्य दल एमालेमा पनि वडाध्यक्ष पदमा उम्मेदवार हुन चाहने आकांक्षीको संख्या थेगिनसक्नु छ । ‘बडिमालिका नगरपालिका वडा नम्बर ३ मा हाम्रो दलबाट वडाध्यक्षका आकांक्षीको संख्या २० जना पुगेको थियो,’ एमाले बाजुराका कार्यालय सचिव काँसी विक भन्छन्, ‘केहीमा त निर्विरोध उम्मेदवार चयन पनि भएका छन् । तर धेरैजसोमा सात–आठ जना दावेदार देखिन्छन् ।’
०७४ को निर्वाचनका बेला अहिलेजस्तो आकांक्षीहरूको रस्साकसी थिएन । बाजुरा कांग्रेसका सचिव पुरीको बुझाइमा संघीयता आएपछि यसअघि पहिलो पटक भएको निर्वाचनमा पालिका प्रमुख हुनका लागि आकांक्षीबीच देखिएको रस्साकसी यतिबेला वडाध्यक्ष पदकै लागि देखिएको छ । ‘मासिक रूपमा पारिश्रमिक पाइनुका साथै कार्यकारी अधिकार पनि प्रयोगको अवसर भएकाले वडाध्यक्षमै धेरैको आकांक्षा देखिएको होला,’ बाजुरा एमालेका कार्यालय सचिव काँसी विकले भने, ‘राजनीति सेवा नभई पेसा व्यवसायका रूपमा प्रयोग हुन थालेकाले पनि यस्तो भएको हुन सक्छ ।’
कानुनले वडाध्यक्षलाई विभिन्न अधिकारहरू निर्धारण गरेको छ । जसअन्तर्गत प्रचलित कानुनको प्रक्रिया पुर्याई वडा समितिबाट गर्नुपर्ने विभिन्न प्रमाणित र सिफारिस गर्ने, वडा समितिको योजना तथा बजेट तयार गर्ने, वडासँग सम्बन्धित कामका लागि समन्वयकर्ताको रूपमा रही काम गर्ने, वडा समितिका सदस्यहरूलाई कामको बाँडफाँट गरी परिचालन गर्ने, कार्यपालिकाको सदस्यको कार्य गर्ने अधिकार वडाध्यक्षलाई छ । त्यस्तै, आफ्नो वडाभित्र घरधुरीको क्षेत्रगत तथ्यांक संकलन गरी अभिलेख राख्ने, सार्वजनिक सम्पत्तिको लागत राख्ने, वडाभित्र रहेका बजार केन्द्रहरूको अनुगमन गर्नेलगायतका अधिकारहरू वडाध्यक्षलाई दिइएको छ ।
वडादेखि पालिका प्रमुखसम्म धमाधम उम्मेदवारी सार्वजनिक भइरहँदा र पार्टीहरूले पनि वडा र नगर तहमा उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्दैगर्दा मुख्य पदमा महिलाहरूले दावी नै गरेका छैनन् । बाजुराको बुढीगंगामा प्रमुख पदमा पुरुषहरूको र उपप्रमुख पदमा महिलाहरूबीच नै हानाथाप देखिएको छ ।
नगर प्रमुख (मेयर) पदका लागि रंगबहादुर खाती, शेरबहादुर खाती, तिलखराज पुरी, सुरत शाह, मनबहादुर रावल, गुरुदेव केसी, राजेन्द्र शाह (बीपी), हर्क खडायत, योगेन्द्र रावल, तपेश रावल र जयराज उपाध्याय गरी ११ जनाले मेयर पदका लागि नगर कार्यसमितिमा उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा तारा खाती, पूजाकुमारी खड्का, रीता शाही, जानकी कुमारी थापा र दृश्य कुमारी शर्माले उम्मेदवारी दर्ता गराएका छन् । ‘वडाध्यक्ष वा पालिका प्रमुखमा महिलाहरूको दावी नै देखिएको छैन,’ पार्टीका सचिव पुरीले भने ।
यस्तै एमालले बुढीगंगाबाट सात जना मेयर र तीन जना उपमेयर पदका लागि उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गराएका छन् । नगरप्रमुख पदमा भरतबहादुर थापा, मीनबहादुर विष्ट, रामबहादुर बानियाँ, जहरसिंह थापा, चन्द्रबहादुर थापा, हंसबहादुर सिंह र तुलाबहादुर थापाले नाम दर्ता गराएका हुन् । उपप्रमुख पदका लागि माया कुँवर, देबु खाती र विमला थापा रहेका एमाले नगर कमिटीद्वारा जारी पत्रमा उल्लेख छ ।
