तीजमा कस्तो दर खाने ? कसरी व्रत बस्ने ?

पहिलेपहिले दरमा दुग्धजन्य पदार्थ, मसलायुक्त परिकार, मासु, मिठाईहरूमा बढी जोड दिइन्थ्यो, तर अहिले भने महिलाहरू 'डाइट प्लान'अनुसार दर खान थालेका छन् ।

भाद्र ९, २०८२

सुजाता मुखिया

What rate to eat in Teej? How to fast?

What you should know

काठमाडौँ — हरेक वर्ष भदौ महिनाको शुक्ल तृतीया तिथिमा मनाइने तीज हिन्दु महिलाहरूको एक विशेष पर्व हो । सौभाग्य, प्रेम र परिवारको कल्याणको कामना गर्दै महिलाहरू यस दिन व्रत बस्छन् । परम्परागत रूपमा तीजको व्रत जल समेत नखाई बसिने कठोर व्रत हो ।

तर बदलिँदो जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चेतना र व्यस्त सहरी जीवनबीच आजका महिलाहरूले तीजलाई परम्परा र स्वास्थ्यबीचको सन्तुलित रूप दिन थालेका छन् । त्यसैले तीजको तयारीमा अब ‘डाइट र फास्ट प्याकेज’ पनि खास अंग बनेको छ ।

तीजको व्रत अघिल्लो रात ‘दर खाने’ चलनबाट सुरु हुन्छ । पहिलेका दिनमा दरमा घिउ, बेसार, मसलायुक्त परिकार, मासु, मिठाईंहरूमा बढी जोड दिइन्थ्यो । तर अहिले भने महिलाहरू 'डाइट प्लान'अनुसार दर खान थालेका छन् ।

हेल्दी दर 

यसरी खानाले शरीरलाई भोलिपल्टको व्रतका लागि ऊर्जा दिन्छ भने ग्यास्ट्रिक, भारीपन, सुगर स्पाइक जस्ता समस्याबाट पनि बचाउँछ । पछिल्लो दिन ‘हेल्दी दर’ भन्ने शब्द लोकप्रिय बन्दै गएको छ । महिलाहरूले भारी र तेलिलो खाना त्यागेर अब फलफूल, ड्राइ फ्रुट्स, सलाद, हल्का दाल–भात, सुप, ओट्सजस्ता पोषणयुक्त परिकारहरू दरमा राख्न थालेका छन् ।

स्मार्ट फास्टिङ

तीजको मूल भावना व्रत हो । तर त्यसको स्वरूप आजका दिनमा थोरै लचिलो भएको छ । पानी पनि नखाई व्रत बस्ने महिलाहरू कम भइरहेका छन् । धेरैजसो महिलाहरू अब फलाहार  वा लिक्विड डाइट फास्टिङ शैली अपनाउँदै छन् । डाइटिसियनहरूका अनुसार, यस्तो व्रतले व्रतको भावना पनि जोगाउँछ र शरीरमा कमजोरी आउन दिँदैन । 

तीजको व्रत महिलाका लागि केवल शारीरिक अभ्यास होइन, त्यो मानसिक धैर्य, श्रद्धा र आत्म–अनुशासनको अभ्यास पनि हो । व्रत बस्ने क्रममा मेडिटेसन, मौन अभ्यास, भजन–कीर्तनजस्ता तत्वहरू मनलाई शान्त पार्न सघाउँछ । 

व्रत बसेको दिनमा अधिक फिजिकल एक्टिभिटी गर्न सकिँदैन । त्यसैले व्रतअघिका हप्ताहरूमा महिलाहरू अब योग, स्ट्रेचिङ, डान्स एक्सरसाइजमार्फत शरीरलाई तन्दुरुस्त बनाउन थालेका छन् । कतिपय महिलाहरूले त दर खानुअघिको एक हप्ता डिटक्स डाइट प्लान पनि फलो गर्छन् । 

निर्जला उपवासको चुनौती

तीजको व्रत अधिकांश महिलाहरू निर्जला अर्थात् खाना र पानी केही पनि नखाई बस्ने गर्छन्, जुन धार्मिक आस्थाको गहिरो प्रतीक भए पनि स्वास्थ्यको दृष्टिले भने चुनौतीपूर्ण अभ्यास बन्ने चिकित्सकहरू बताउँछन् ।

पोषणविद् अनुश्री आचार्य भन्छिन्, ‘पानी नपिएर बस्दा शरीरमा डिहाइड्रेसनको समस्या देखिन्छ । पेट पोल्ने, एसिडिटी, टाउको दुख्ने, थकान लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।’ उनका अनुसार यस्तो व्रत बस्नुअघि प्रत्येक महिलाले आफ्नो स्वास्थ्य अवस्थाबारे गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।

पोषणविद् संगीता लामिछाने पनि तीजको अघिल्लो दिनको भोजनले उपवासमा असर पार्ने बताउँछिन् । ‘अघिल्लो दिन धेरै तेल र मसला भएको खाना खाएर भोलिपल्ट पानी नपिई व्रत बस्दा शरीरमा बढी डिहाइड्रेसन हुन्छ,’ उनी भन्छिन् । उनको भनाइमा उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरूका लागि यस्तो उपवास विशेष जोखिमपूर्ण हुन सक्छ ।

विशेषतः मधुमेह वा हर्मोन असन्तुलन भएका महिलाहरूका लागि दिनभरको निर्जला व्रत निकै संवेदनशील विषय बन्न सक्छ । लामो समय खाली पेट बस्दा शरीरको चिनीको मात्रा घट्ने (हाइपोग्लाइसेमिया), रक्तचापको असन्तुलन, बढी थकान, कमजोरी, चक्कर आउने स्वास्थ्य समस्या देखिन सक्छन् । यो अवस्थाले हर्मोनको सन्तुलनमा पनि असर पुर्‍याउन सक्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार व्रत बस्नु आफैंमा खराब होइन, तर उपयुक्त तरिकाले व्रत बस्नुपर्ने हुन्छ । शरीरको अवस्थाअनुसार निर्जला व्रतको सट्टा फलाहार वा जल सेवनसहितको हल्का उपवास बस्न पनि सकिन्छ । डिहाइड्रेसनबाट बच्न व्रतअघि प्रशस्त पानी पिउनु, हल्का र सुपाच्य खाना खानु, व्रतपछि धेरै भोजन नगरी विस्तारै खान सुरु गर्नु पोषणविद्हरूको सुझाव छ ।

धार्मिक आस्था र परम्परा पालना गर्नु एक कुरा हो, तर त्यससँगै आफ्नो स्वास्थ्य सुरक्षालाई पनि ध्यानमा राख्नु अत्यावश्यक छ । तीजको व्रत बस्दा महिलाहरूले केवल परम्परा होइन, शरीरको संकेत पनि सुन्ने बेला आएको छ ।

व्रत बस्दा  

व्रतले शरीरमा सञ्चित बोसो घटाउन, तौल घटाउन र पाचन प्रणालीलाई विश्राम दिन सहयोग गर्छ । तर त्यही व्रतले यदि शरीरको आवश्यकताको बेवास्ता गरियो भने, समस्यै समस्या निम्त्याउँछ ।

व्रत विज्ञानले पनि प्रमाणित गरेको ‘अटोफेजी’ नामक प्रक्रिया सक्रिय हुन्छ–जसमा शरीर आफैंले मृत वा रोगी कोषहरूलाई हटाउने काम गर्छ । तर गलत विधिबाट गरिएको उपवासले शरीरलाई झनै कमजोर बनाउँछ ।

के गर्न सकिन्छ ? 

सुजाता मुखिया मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully